नेपाल प्रतिभाहरू भएको देश हो : प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल गीत, संगीतलगायतका प्रतिभाहरू भएको देश भएको बताएका छन् ।
छिन्नतला गीत पुरस्कार गुठीले बुधवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
भारतीय चर्चित रियालिटी सो इन्डियन आईडलबाट नाम कमाउन सफल मेनुका पौडेलको दृष्टान्त पेस गर्दै प्रधानमन्त्री ओलीले कला, संस्कृति, संगीत, वाद्यवादन, गायनको विकास गर्ने ठाउँ नेपाल भएको पनि उल्लेख गरे ।
त्यस अवसरमा उनले नेपालमा विभिन्न विधाको प्रतिभाहरू रहेको ठाउँ भएको र उनीहरूलाई खोजिखोजी सम्मान गर्ने काम गरेको भन्दै सो गुठीको प्रशंसा पनि गरे ।
प्रधानमन्त्री ओलीले भने ‘कला, संस्कृति, संगीत, वाद्यवादन, गायन । यी सबै कुरामा यो ठाउँ त्यसलाई बुझ्न पनि जान्ने, चिन्न पनि जान्ने र त्यसलाई प्रस्फुटित गर्न जान्ने, त्यसलाई विकास गर्नसक्ने यो ठाउँ हो । आज हामी यस ठाउँका यिनै कलाकारहरूको सम्मान गरिरहेका छौं । हाम्रो अगाडि कलाकार हुनुहुन्छ मेनुका पौडेल । उहाँ नेत्रविहीनको स्थितिमा हुनुहुन्छ । तर, उहाँले नेपालमा मात्र होइन, विदेशमा समेत गाएर तहल्का मच्चाउनु भएको छ । यो यस्तो प्रतिभाको ठाउँ हो । संगीतमा संकेत चिन्हहरू उहाँले देख्न सक्नुहुन्न । तर देख्न पर्दैन उहाँलाई । त्यसको कहाँनिर कस्तो धुन छ भन्नेकुरा उहाँलाई थाहा छ । त्यसो भएर यो प्रतिभाहरूको देश हो । यहाँका प्रतिभाहरू सम्मानित हुनु भएको छ । खुसी व्यक्त गर्दछु । यस्ता प्रतिभाहरूलाई खोजिखोजी सम्मानित गर्ने, प्रशंशित गर्ने, खोजिखोजी खानीबाट हिरा कटिङ गरेर चम्काएर देखाउने त्यो काम छिन्नतला पुरस्कार गुठीले गरेको छ । म धन्यवाद भन्न चाहन्छु । ’
कार्यक्रममा प्रधानमन्त्री ओलीले २०७९ सालको छिन्नलता पुरस्कार गीतकार भूषण खरेललाई प्रदान गरेका थिए । त्यसैगरी उनले संगीत पुरस्कार मनराजा नकर्मी, गायनतर्फ शिव परियार र युवातर्फ गायिका मेनुका पौडेललाई पुरस्कार प्रदान गरेका थिए ।
प्रधानमन्त्री ओलीले २०८० सालको छिन्नलता पुरस्कार गीतकार वीरेन्द्र पाठक, संगीतकार चण्डीप्रसाद काफ्ले, गायनतर्फ मनिता सोताङ र युवातर्फ गायक भूपू पाण्डेलाई पुरस्कार प्रदान गरेका थिए । छिन्नलता गीत, संगीत र गायनको पुरस्कारको राशि जनही एक लाख रहेको छ ।








