प्रधानमन्त्रीबाट पदमुक्त प्रचण्ड समाजवादी मोर्चा बलियो बनाउँदै

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समाजवादी मोर्चालाई बलियो बनाउन लागि परेका छन्।
प्रधानमन्त्रीको जिम्मेवारी छाडेको भोलिपल्ट मंगलबार नै उनले समाजवादी मोर्चाको बैठक रोखका हुन्।
एकीकृत समाजवादीको मुख्यालयमा बसेको बैठकमा मोर्चाले कांग्रेस–एमालेको गठबन्धन देश र जनताका लागि प्रतिकूल रहेको निष्कर्ष निकालेको छ।
संविधान संशोधन गरेर प्राप्त उपलब्धि उल्ट्याउने गरी कांग्रेस एमालेको गठबन्धन बनेको उनीहरुको आरोप छ। यसविरुद्ध जनतामा जागरण फैल्याउने निर्णय पनि मोर्चाले गरेको छ।
महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी समाजवादी मोर्चामा आबद्ध भएको छ।
जसपा नेपाल, राष्ट्रिय जनमोर्चासहित वामपन्थी र समाजवादी दलहरूलाई पनि समाजवादी मोर्चामा भित्र्याउन पहल गर्ने निर्णय गरेको छ।
उपेन्द्र यादव नेतृत्वको जसपा आजको बैठकमा सहभागी भएन। आफ्नो पार्टी प्रचण्डले फुटाइदिएको भन्दै उपेन्द्र रुष्ट छन्।
समाजवादी मोर्चाले आगामी योजना र कार्यक्रम बनाउन चार सदस्यीय कार्यदल बनाएको छ ।
आगामी योजना र कार्यक्रम १५ दिनभित्र तय गर्नेगरी नेकपाका नेता खड्गबहादुर विश्वकर्मा, नेपाल समाजवादी पार्टीका नेता गंगानारायण श्रेष्ठ, एकीकृत समाजवादीका प्रमेश हमाल र माओवादी केन्द्रका देव गुरुङ सदस्य छन्।








