देशमा अलिकति परिवर्तन भएको छ, यसले सिंगै देशमा आशा र भरोसा जगाएको छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम आउने गरी काम गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास, निर्माणको काम र जनतालाई राहत दिने कुरामा परिणाम आउने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मंगलवार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा नेकपा एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले कठिनाइमा परेको जनतालाई हेर्ने कुरामा, सुशासन र विकासको कामलाई सरकारले सकारात्मक परिणाम आउने गरी काम गर्ने उल्लेख गर्दै आश्वस्त हुन पनि सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले भने ‘साथीहरूलाई म विश्वस्त, आश्वस्त र ढुक्क रहन म के आग्रह गर्न चाहन्छु भने यो सरकारले सुशासन र विकासको सन्दर्भमा, भ्रष्टाचार नियन्त्रण र उन्मुलनको सन्दर्भमा, विकासको कामलाई अगाडि बढाउने सन्दर्भमा र जनतालाई अप्ठ्यारो परेको बेला कठिनाइमा भएका जनतालाई हेर्ने कुरामा । यो तीन वटै पक्षमा सामाजिक क्षेत्र, विकासको क्षेत्र र शासन प्रशासनको क्षेत्र सबैतिर सकारात्मक देखिने गरी परिणाम आउने गरी काम गर्छ भन्ने कुरा विश्वस्त रहन म साथीहरूलाई आग्रह गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले सरकारले बाढी, पहिरो लगायतको क्षतिलाई गम्भीरतापूर्वक लिएको र त्यसै अनुसारको राहतलगायतका आवश्यक व्यवस्था मिलाउने कामलाई अघि बढाएको बताए ।

उनले भने ‘आज एकैचोटी मनसुनको बढी चापले गर्दा केही बाढी पहिरो, केही सडक पुलहरू भत्किने र त्यसबाट जनधनको क्षति हुने त्यस्ता कुराहरू भएका छन् । हाम्रो भौगोलिक स्थितिले पनि यस्ता कुराहरू रोक्न कठिनाइ भईरहेको छ । तर आगामी दिनमा यस्ता प्राकृतिक विपत्तिहरूको कसरी न्यूनीकरण गर्न सकिन्छ  ? जस्ता कुराहरूलाई पनि ध्यान दिने । हामीले तीन वर्ष अगाडि मात्रै कसरी सिन्धुपाल्चोकमा विपत्ति भएको थियो ? त्यो हेर्याै । मेलम्ची खानेपानीको अवस्था । र, हाम्रा पहिरोले नदी रोकेर कसरी क्षति पुर्याएको थियो, त्यो पनि हामीले देखेका छौं । यी सबै कुराहरू हामी सम्झिरहेका छौं । र, यो एक ठाउँको मात्रै कुरा होइन । विभिन्न जिल्लाहरूमा यस्ता भएका छन । त्यसप्रति सजग छौ हामी । हिजो मात्रै मन्त्रीपरिषद् बैठकले पनि त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको छ । गृहमन्त्रीजीले धेरै गम्भीरतापूर्वक त्यसलाई अध्ययन गरिरहनुभएको छ । सम्भवतः आज,भोलीसम्ममा त्यता गएर स्थलगत अध्ययन गर्न आवश्यक पर्न पनि सक्छ । उहाँले अध्ययन गर्दै हुनुहुन्छ अहिले । स्थानीय प्रहरी, प्रशासन सबैतिरबाट रिपोट लिने काम गर्दै हुनुहुन्छ । त्यसमा उहाँले जिम्मा लिएर काम गरिरहनु भएको छ । त्यसमा राहत कसरी पुर्याउने, उद्धार कसरी गर्ने र पुनर्स्थापनामा कसरी गर्ने रु गत वर्षको जाजरकोट केन्द्रित भूकम्पबाट भएको क्षतिको सन्दर्भमा पनि हामीले छिट्टै नै आभास निर्माणका लागि किस्ता रकम दिने कुरामा ध्यान दिने भनेका छौँ । यसरी हाम्रो ध्यान गएको छ विकासका कुराहरूमा ।’

उनले नयाँ सरकार आएपछि सिंगै देशमा आशा र भरोसा जगाएको र त्यसलाई कायम हुनेगरी सरकारले पहिलो क्याबिनेटबाट नै आफ्नो कामलाई अघि बढाएको दाबी गरे ।

भने ‘आज देशमा अलिकति परिवर्तन भएको छ । सरकार परिवर्तन भएको छ । सरकार परिवर्तन हुनु धेरै ठूलो कुरा होइन । सरकार समयमयमा परिवर्तन भइरहन्छ । तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरूमा पनि जगाएको छ । र, सिंगै देशलाई पनि जगाएको छ । म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ । म यति भन्न चाहन्छु–नेपाली जनतामा जुन विश्वास जागेको छ । आशा, भरोसा जागेको छ । सुशासनका लागि, विकासका लागि र जनताले पाउनुपर्ने सेवा, सुविधा सहज ढंगले पाओस् भन्नका लागि । यस चिजमा मेरो ध्यान गएको छ । ’

उनले प्रधानमन्त्रीको पद लिनुको अर्थ, स्विकार्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुुनका लागि मात्र नभएको बताए । उनले प्रधानमन्त्री पहिले नै भइसकेको भन्दै आफ्नो समयमा प्रधानमन्त्रीको हैसियतले मन्त्रीपरिषद्लाई ठिक ढंगले नेतृत्व गर्ने र त्यसलाई देशको विकासका निम्ति, सुशासनका निम्ति र आम जनताका निम्ति अलपत्र बालबालिकाका निम्ति , अपाङ्गता भएका व्यक्तिहरूका निम्ति अथवा बेसहारा ज्येष्ठ नागरिकका निम्ति अथवा उद्योग व्यवसाय चलाउने व्यवसायीहरूको निम्ति, कृषि क्षेत्रमा लागेका किसानहरू वा अन्य विभिन्न क्षेत्रमा पर्यटन क्षेत्र, सामाजिक सेवाको क्षेत्रमा लागेका, सेना, प्रहरी, कर्मचारी, उहाँहरूको पनि वृद्धि विकासका सन्दर्भमा, सुविधाको सुरक्षा र संवर्द्धन गर्ने सन्दर्भमा के , कस्तो गर्न सकिन्छ ? यथाशाक्य सकारात्मक ढंगले सोच्ने र अगाडि बढाउने काम गरेको बताए ।

उनले यस पटक अघिल्लो पटक सरकार चलाएका अनुभवहरू भएको बताए । उनले अप्ठयाराहरुसँग जुधेको, कोभिडसँग जुधेको। नाकाबन्दीसँग जुधेको र पार्टी भित्रैका डरलाग्दा अप्ठयाराहरुसँग जुधेको बताए । उनले घेराबन्दीसँग जुधेको ती अनुभवहरू रहेको बताए । उनले आज कतै पनि त्यस्तो स्थिति नभएको भन्दै विकास, निर्माणका कुरा मात्रै होइन भविष्यका कर्णधार बालबालिकाहरूलाई फस्टाउन दिनुपर्छ भन्ने कुरामा जोड दिएको बताए ।

उनले कीर्तिपुर क्रिकेट रंगशालालाई ३०० दिन भित्र प्याराफिटसहित राति पनि खेल्न सकिने गरीको प्रबन्धका साथ पूरा गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विगतमा पनि आफूले सरकारको नेतृत्व लिएको बेला देश र जनताको पक्षमा काम गरेको र अहिले पनि जनताको पक्षमा तीव्रताका साथ काम गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =