रास्वपाको प्रश्न– समावेशितालाई हेर्ने सरकारको दृष्टिकोण के हो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नवगठित सरकारको समावेशिताप्रति प्रश्न उठाएकी छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गौतमले नवगठित सरकार समावेशि नभएको भन्दै प्रश्न उठाएकी हुन् । उनले मन्त्रिपरिषद्मा संविधानले सुनिश्चित गरे अनुरुपको महिलाको प्रतिनिधित्व नभएको बताइन् ।
त्यस्तै दलितको प्रतिनिधित्व शुन्य रहेको भन्दै सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? भनि प्रश्न गरिन् ।
‘नवगठित सरकारले समावेशितालाई हेर्ने दृष्टिकोण के हो ? यो बारे पनि हामी जिज्ञासा राख्न चाहन्छौँ । किनभने अहिलेको मन्त्रीमण्डलको स्वरुप हेर्दाखेरी संविधानले सुनिश्चित गरेको महिलाको प्रतिनिधित्व त्यहाँ देखिएको छैन । झल्किएको छैन । दलितको प्रतिनिधित्व शुन्य छ । समावेशितालाई कसरी हेरेको छ सरकारले यो बारेमा पनि सरकारले हामीलाई जानकारी देओस् ।
उनले स्वार्थको द्वन्द्व हुनेखालको व्यक्तिलाई मन्त्री नियुक्त गरिएको उल्लेख गर्दै यसप्रति पनि सरकारको जवाफ माग गरिन् ।
उनले भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानविनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा गर्न नसकिने बताइन् ।
‘यो सरकारले स्वार्थको द्वन्द्वलाई कसरी हेरेको छ ? कत्तिको संवेदनशील भएको छ ? मन्त्रीले आफ्नो व्यवसाय मिल्ने प्राधिकार ग्रहण गर्न मिल्ने कि नमिल्ने ? सरकारले यो विषयमा पनि हामीलाई जानकारी दिनुपर्छ,’उनले भनिन्,‘नियामक निकायमाथिको राजनीतिक हस्तक्षेप र त्यहाँ माथिको रजगजबारे सरकारको धारणा के छ ? भ्रष्टाचारको मुद्दामा नाम मुछिएर छानविनमा नाम आएका मन्त्रीबाट सुशासनको अपेक्षा हामीले कसरी गर्ने ? यो बारेपनि सरकारले हामीलाई स्पष्ट पारिदेओस् । हाम्रो गम्भीर चिन्ताको विषय हो । मन्त्रीहरुको आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिनुहोस् । नियम अनुरुप नै गर्नुपर्ने हुन्छ ।’
उनले मन्त्रीहरुलाई आफ्नो सम्पती विवरण सार्वजनिक गर्न आग्रह पनि गरिन् । सांसद गौतमले समृद्धि र सुशासनको मुद्दामा आफूहरुको पूर्ण सहयोग हुने र भ्रष्टाचारको मुद्दामा निर्मम भएर खरो उत्रिने बताइन् ।








