एमालेबाट मन्त्रीको अन्तिम टुंगो लगाउन बालकोटमा जुटे शीर्ष नेता

नेकपा (एमाले) ले आफ्नो भागमा परेका ८ मन्त्री टुंग्याउन बालकोटमा राति अबेरसम्म पनि बैठक बसिरहेको छ।
पार्टी अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा शीर्षनेताहरुको बैठक बसिरहेको छ।
सोमबार बिहान ओलीले सपथ लिने तय भइसकेको छ। आफूसँगै कांग्रेसबाट ९ जना र आफ्नो पार्टीबाट ८ जनालाई मन्त्री बनाउने ओलीको तयारी छ। कांग्रेसले मन्त्रीहरु टुंगो लगाइसकेको छ। अब एमालेले पनि अन्तिम टुंगो लगाउन छलफल गरिरहेको हो।
प्रधानमन्त्री ओलीको शपथ भोलि विहान ११ बजेका लागि तय गरिएको छ।
एमालेले अर्थ, भौतिक पूर्वाधार, सामान्य प्रशासनसहित ८ मन्त्रालय र कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, उर्जासहित ९ मन्त्रालय लिने सहमती भइसकेको छ।
बाँकी मन्त्रालय साना दललाई दिने भनिएपनि कुन कुन दललाई कति दिने भन्ने टुंगो लागिसकेको छैन। साना दल पनि मन्त्रालय पाउने आशमा यी दुई दलकै पछि लागेका छन्।








