बिशालनगरमा कांग्रेस इतर समूहको बैठक, मन्त्रीका विषयमा छलफल

काठमाडौं । नेपाली काँग्रेसबाट नयाँ सरकारमा सहभागी हुने मन्त्रीका विषयमा नेताहरूले छलफल थालेका छन् ।
काँग्रेसमा संस्थापन र संस्थापन इतर समूहबाट सरकारमा सहभागी हुने मन्त्रीका विषयमा छलफल भइरहेको छ । कांग्रेसले ओली नेतृत्वको नयाँ सरकारमा योग्यता, योगदान र समावेशिताका आधारमा मन्त्री पठाउने छ ।
सोही विषयमा काँग्रेसमा विभिन्न चरणमा छलफल भइरहेको हो । जसअनुसार कांग्रेस नेता शेखर कोइरालाले संस्थापन इतर समूहबाट सरकारमा पठाउने मन्त्रीका बारेमा छलफल गरेका छन् ।
बिशालनगर स्थित कोइरालाको सचिवालयमा भएको बैठकमा विकसित पछिल्लो राजनीतिक अवस्था र आफ्नो समूहबाट सरकारमा मन्त्री पठाउने विषयमा छलफल भएको थियो ।
संस्थापन इतर समूहको बैठकमा उपसभापति धनराज गुरुङ,महामन्त्री गगन थापा, बद्री पाण्डे, जीवन परियार,अर्जुननरसिंह केसी,बलबहादुर केसी,दिलेन्द्र बडू,डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी भएका थिए ।
छलफलमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए । इतर समूहबाट कसलाई मन्त्री बनाएर सरकारमा पठाउने भन्ने विषयमा टुंगो भने लागिसकेको छैन ।








