योगदान र योग्यताका आधारमा कांग्रेसले मन्त्री छान्ने

काठमाडौं । नेपाली काँग्रेसले योगदान, योग्यता, समावेशिता र प्रादेशिक सन्तुलनलाई मुख्य आधार बनाएर सरकारमा सहभागी हुने मन्त्रीहरु चयन गर्ने भएको छ ।
शनिवार पार्टी मुख्यालय सानेपामा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठकले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मन्त्री चयनका लागि योगदान र योग्यतामा आधारित मापदण्ड तय गरेको हो ।
‘पहिलो छ–नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतीको सरकार गठन सम्बन्धि सहमती भए अनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले)का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बजेजिम सहभागी हुने यो बैठकले निर्णय गरेको,’उनले भने,‘योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरु चयन गर्ने यो बैठकले निर्णय गरेको छ ।’
योग्यता र योगदानलाई मुख्य आधार बनाएर प्रादेशिक सन्तुलन र समावेशिताको आधारमा सरकारमा जाने मन्त्रीहरु छनौट गर्ने निर्णय बैठकले परेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
बैठकले नारायणगढ—मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परेर दुई बस त्रिशुली नदीमा खस्दा करिव ५ दर्जन भन्दा बढी यात्रुहरु अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका ७ जनासहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशभरी विभिन्न भूभागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति कार्य सम्पादन समितिको बैठकले गहिरो समवेदना व्यक्त गर्दै युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, नागरिकलाई सुरक्षित स्थलतर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियताका साथ लाग्न सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
प्राकृतिक विपद्मा परी ज्यान गुमाउनुभएकाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुको शोक सन्तप्त परिवारजनमा नेपाली काँग्रेसले गहिरो समवेदना प्रकट गरेको पनि प्रवक्ता महतले बताए ।
‘देशभरी विभिन्न भूभागमा बाढी, पहिरो र डुबानमा परी भएको जनधनको ठूलो क्षतिप्रति कार्य सम्पादन समितिको बैठकले गहिरो समवेदना व्यक्त गरेको छ,’उनले भने,‘यसबाट उत्पन्न परिस्थितिले नागरिकको जीवन कष्टकर भएको छ । सम्पूर्ण पीडितहरुको यो समवेदनशीलताप्रति नेपाली काँग्रेस सहानुभुति प्रकट गर्दछ ।’
काँग्रेसले सडक दुर्घटनाको अवस्था अन्त्य गर्न पनि पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्युनिकरण सम्बन्धि आवश्यक कानूनी व्यवस्थाका लागि पनि सरकारको ध्यानाकर्षण गरिएको जनाएको छ ।








