न्यायाधीशहरु भन्छन्– न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिकालाई लयमा फर्काउन सञ्चारमाध्यमको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।

शनिवार ललितपुरमा आयोजित संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले न्यायपालिकालाई लयमा फर्काउन राज्यको चौथो अंगको योगदान अविष्मरणीय रहेको उल्लेख गर्दै इतिहासमा सुनौलो अक्षरले लेखिने पनि बताए ।

उनले नेतृत्व भ्रष्ट र घृणित भए सबै ठाउँमा विकृति बढ्दै जाने उल्लेख गर्दै सो समयमा पत्रकारको कलमले समाचार नलेखे मुलुकले ठूलो मूल्य चुकाउने बताए । उनले अहिले सामाजिक सञ्जाल व्यक्तिको चरित्र हत्या गर्ने माध्यम बनेको भन्दै नियमनको आवश्यकता औंल्याए ।

लोकतन्त्रको मर्म मर्नेगरी अदालती रिपोर्टिङ गर्न नहुने पनि न्यायाधीश राउतको भनाइ छ । उनले गलतलाई गलत र सहीलाई सही भन्नसक्ने जमात नेपाली समाजमा कम हुँदै गएको बताए ।

उनले निहित स्वार्थहरुको लागि अदालतको हुर्मत लिँदै गर्दा अदालतको प्रतिरक्षामा कोही पनि उभिन नसकेको जिकिर गरे । न्यायाधीश राउतले अर्कालाई दोषारोपण गर्ने कुरामा नेपाली समाज पोख्त बन्दै गएको पनि बताए ।

उनले लिभरल डेमोक्रेसीको कोर भ्याल्युजहरु जोगिएको दिनसम्म मात्रै न्यायपालिका र पत्रकारिता बाँच्ने जिकिर गरे ।

सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलले कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेर्न आवश्यक रहेको बताए ।

उनले विभिन्न देशहरुले पनि कानून क्षेत्रको पत्रकारितालाई अरु पत्रकारिता भन्दा विशेष रुपमा हेरेको उल्लेख गर्दै अदालत संवेदनशील स्थान भएको बताए । उनले न्यायाधीशहरु र अदालतका कर्मचारीहरुले प्रतिवाद गर्न नसक्ने भन्दै न्यायालय र सञ्चारकर्मीहरुबीच मर्म बुझ्ने भावना गाँसिन आवश्यक रहेको बताए ।

उनले पछिल्लो समय अदालतको रिपोर्टिङ प्रशारणका साधनहरुमा उल्लेख्य परिवर्तन आएको भन्दै ‘न्यु मिडिया’लाई पनि नराम्रो दृष्टिकोणबाट हेर्न नहुने बताए । सबैको पहुँचमा सूचना पुग्नेकुरा दुःखको विषय हुन नसक्ने न्यायाधीश फुयाँलको भनाइ छ ।

नेपाल बार एशोसिएशनकी महासचिव अञ्जिता खनालले अदालती भाषालाई ठिक ढंगबाट संप्रेषण गर्न आवश्यक रहेको बताइन् । उनले अरुको नक्कल गरेर समाचार प्रकाशन गर्दा र अदालती भाषा नबुझ्दा अनर्थ लाग्ने भएकाले अदालती भाषाको बारेमा सही ज्ञान लिन आवश्यक रहेको बताइन् ।

उनले सञ्चारमाध्यमले सत्यतथ्य समाचार नागरिकहरुसमक्ष पु¥याउँदा नै समाज सही बाटोमा जाने धारणा राखिन् ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अदालतको चरित्र, अदालतको संरचना, अदालतको प्रकृति र काम बुझेर पत्रकारिता भएमात्रै देशका लागि फाइदा हुने बताए ।

उनले अदालतले आफैँ आफ्नो बारेमा बोल्न नसक्ने भएकाले सञ्चारमाध्यमले अदालतको मर्म बुझेर समाचार प्रकाशन एवं प्रशारण गर्नुपर्ने बताए ।

उनले अदालतले फैसला र आदेशमार्फत मात्रै बोल्नसक्ने र अदालतको स्वतन्त्रता बचाउनको लागि प्रेसको अहं दायित्व हुने बताए ।

सञ्चारमाध्यमले स्वच्छ रुपमा अदालतका कुराहरु बाहिर ल्याउन आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । उनले स्वतन्त्र र सक्षम न्यायपालिकाका लागि प्रेस सहयात्री रहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै अनलाइन खबरका प्रधान सम्पादक शिव गाउँलेले पत्रकारको जिम्मेवारी आम नागरिक, पाठक, दर्शक र श्रोताप्रति उत्तरदायी हुनु रहेको बताए ।

उनले टेलिफोन निर्भर पत्रकारिताले आत्मविश्वासका साथ समाचार लेख्न नसकिरहेको अहिलेको परिवेशलाई अन्त्य गर्न आवश्यक भएको बताए । उनले पत्रकारहरु डिजिटल माध्यमका कारण बढी सुविधाभोगी भएको बताए ।

उनले न्यायलयमा धेरै हदसम्म परिवर्तन आएको पनि बताए । प्रेस, विपक्षी दल र न्यायालय कमजोर भएको समयमा लोकतन्त्र धरापमा पर्ने बताए ।

उनले अहिले झन्डै दुई तिहाईको सरकार बन्न लागेको उल्लेख गर्दै अदालत र पत्रकार एक ठाउँमा बसेर छलफल गर्नेकुरा सुखद् भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − seven =