मुलुकलाई निकास दिन काँग्रेस–एमाले सहकार्यलाई साथ दिने निर्णय गरेका हौँ : अब्दुल खान

काठमाडौं । जनमत पार्टीका सांसद अब्दुल खान वर्तमान सरकारले मुलुकलाई निकास दिन नसक्ने भएकाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन नसकिने निर्णय गर्नुपरेको बताएका छन् ।
सांसद खानले वर्तमान सरकारले मुलुकलाई निकास दिनेगरी शल्यक्रिया गर्न नसक्ने भएकाले दुई ठूला दलको सहकार्य गरेर अघि बढ्ने निर्णयको पक्षमा उभिनु परेको स्पष्ट पारे ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले राखेका विश्वासको मतको विपक्षमा बोल्दै उनले दुई ठूला दल काँग्रेस र एमालेलाई मिलेर अघि बढ्न पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले केही समयअघि नै गरेका अपिल आजको दिनमा आएर मिलेकाले पनि आफूहरूले नयाँ सत्ता समिकरणलाई स्वागत गरेको बताए ।
उनले भने, ‘उपकरण छैन भने डाक्टर केही गर्न सक्दैन । त्यसकारण यो सरकारले केही गरेको छैन भन्ने होइन । प्राथमिकता उपचार गरेको छ । अव चाहिएको छ शल्यक्रिया गर्न । देशको आवश्यकता शल्यक्रिया गर्नसक्ने खालको डाक्टर हो । यसको निम्ति हाम्रो पार्टीको राष्ट्रिय अध्यक्ष माननीय डाक्टर सिके राउत जीले यही रोष्टमबाट ३, ४ महिना अगाडि भन्नु भएको थियो–ठूला दलहरू मिल्नुस, यदि देशको उन्नति हुन्छ, समृद्धि आउँछ भने भनेर भन्नु भएको थियो । देशमा रोजगारी आउँछ भने तपाईँहरू मिल्नुस् । मिलेर देशलाई निकास दिनुस् । वास्तवमा आज त्यही समय आएकाले हुनाले हाम्रो पार्टीको निर्णय हाम्रो पार्टीले गरेको निर्णय सम्माननीय प्रधानमन्त्रीज्यूले राख्नु भएको प्रस्तावको विपक्षमा मत दिने म घोषणा गर्दछु । ’
सांसद खानले नेपाली जनताले चाहे अनुसारको काम वर्तमान सरकार गर्न नसकेको पनि बताए ।








