ब्रिटिस एजुकेसन ग्रुपद्वारा क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण

काठमाडौँ । ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका शिक्षण संस्थाहरु सञ्चालनको ब्रिटिस एजुकेसन ग्रुपले क्यानडाको नोभा स्कोटियास्थित पुरानो निजी कलेजमध्येको एक म्यारिटाइम बिजनेस कलेज (एमबीसी) अधिग्रहण गरेको हो ।
सन् १८९९ मा स्थापित हेलिफ्याक्सस्थित एमबीसीले प्राविधिक विषयहरूमा शिक्षा प्रदान गर्दै आइरहेको छ । सुरुमा स्थानीय व्यावसायीहरुको आवश्यकताहरू पूरा गर्न स्थापना गरिएको एमबीसीले बिजनेस एडमिनिस्ट्रेसन, भेटेरीनरी एसिस्टेन्ट, मेडिकल डिभाइस रिप्रोसेसिङ, इन्टेरियर डेकोरेटिङ र टू डी–थ्री डी एनिमेसन एण्ड डिजिटल आर्ट्स विषयहरूको अध्यापन गराउँदै आएको छ ।
स्थापनाको १२५ वर्षको अवधिमा दक्ष जनशक्ति तयार गर्दै रोजगारको क्षेत्रमा बलियो प्रतिष्ठा आर्जन गरेको एमबीसीले दाबी गरेको छ । अब ब्रिटिस एजुकेसन ग्रुपले सो कलेजलाई खरिद गरेसँगै लण्डनस्थित द उलविच कलेजमा रहेका केही पाठ्यक्रमहरू थप गर्ने योजना बनाएको ब्रिटिस एजुकेसन ग्रुपले जनाएको छ ।
ब्रिटिस एजुकेसन ग्रुपका सीइओ राजन कँडेलले शताब्दी भन्दा लामो इतिहास बोकेको एमबीसी अधिग्रहण गरेपछि प्रतिक्रिया दिँदै भने ‘हामी आफ्ना विद्यार्थीहरूलाई विश्वव्यापी अवसरसँगै नयाँ अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छौं । यस अधिग्रहणले नेपाल, दुबई, र क्यानडाका हाम्रा क्याम्पसहरूबिच सजिलै क्रेडिट ट्रान्सफरको सुविधा प्रदान गर्नेछ, जसले हाम्रो ग्लोबल सिटिजन निर्माण गर्ने दृष्टिकोणलाई थप प्रवद्र्धन गर्नेछ ।’
सीईओ कँडेलले ६ महिनाभन्दा बढी लामो समयको अधिग्रहण प्रक्रियामा सहभागी सबैलाई साथै क्यानडामा रहेका नेपाली समुदायलाई धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर साथ, समर्थन र मार्गदर्शनको अपेक्षा गरेको भन्दै कृतज्ञता व्यक्त गरे ।
ब्रिटिस एजुकेसन ग्रुपले नेपाल, दुबई र लण्डनमा शैक्षिक संस्थाहरु सञ्चालन गरि विद्यार्थी तथा कर्मचारीहरूलाई ग्लोबल एक्सपोजर प्रदान गरिरहेको छ । पछिल्लो समय अधिग्रहण गरेको क्यानडाको कलेज पनि शैक्षिक उत्कृष्टताको लागि महत्वपूर्ण उपलब्धि भएको ग्रुपको जनाएको छ ।








