‘सधैँ अन’मा आधारित हुँदै ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

काठमाडौँ । एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्नेछन् । एनसेल र फेसबुकको मातृसंस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेको छ ।

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिले काहीँ मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरि दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ । विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक रहेको जनाएको छ ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरि इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरूले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टहरुमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात् उचित उपयोग नीति लागु हुने कम्पनीले जनाएको छ ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पुर्याउने र सधैँ अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरूका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रही रहने कुराको सुनिश्चित गर्नेमा एनसेलले विश्वस्त रहेको जनाएको छ । यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्ने एनसेलका चीफ कमर्शियल अफिसर उमेर मोहसिन बताए ।

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुनेगरि इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्टमात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो, र अन्य प्रकारको धेरै डेटा खपत हुने सामाग्री उपलब्ध हुँदैन । यसैगरी स्वास्थ्य एवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरूमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरू बुकमार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन् । ग्राहकहरूले आफ्नो स्टाटस्, पोस्टहरू राख्ने, फोटोहरू हेर्ने र राख्ने जस्ता कामहरु गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरु स्वतः शुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किने एनसेलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *