अध्यक्ष नेपालको दाबी- रेडक्रस पारदर्शी छ, समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गर्यो

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले समाज कल्याण परिषद्ले छानबिनको नाममा भ्रम सृजना गरेको भन्दै आपत्ति जनाएको छ ।

रेडक्रसले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी समाज कल्याण परिषद्ले भ्रम फैल्याउने प्रयास गरेको आरोप लगाएको हो । समाज कल्याण परिषद्को अनियमितता भएको समाचार विभिन्न समाचार माध्याममा आएपछि आफूहरूले पनि त्यसको स्पष्टीकरण दिन बाध्य हुनुपरेको रेडक्रसका अध्यक्ष सुदर्शनप्रसाद नेपालले जानकारी दिए ।

उनले समाज कल्याण परिषद्ले आफूहरूसँग छलफल समेत नगरी रेडक्रसको छानबिन प्रतिवेदन तयारी मिडियाहरूमा सार्वजनिक गरेको भन्दै आक्रोश व्यक्त गरे । अध्यक्ष नेपालले रेडक्रस पारदर्शी रहेको र आफूहरूले देशमा राजनीतिक घुसाउन नदिने जिकिर समेत गरे । समाज कल्याण परिषद् रेडक्रसको नियमनकारी निकाय भएपनि उसले छलफल समेत नगरी छानबिनको नाममा त्यस्ता काल्पनिक खालको मिथ्या र झुट समाचार विभिन्न समाचार माध्याममा प्रसारण गराएको आरोप समेत लगाए ।

पत्रकार सम्मेलनमा बाढी, पहिरो, डुबान लगायतका विपद्मा खोज, उद्धार र राहत वितरणको काममा रेडक्रसका स्वयंसेवीहरू परिचालन गरिएको र उनीहरुले समुदायको जीवन रक्षाका लागि खटिरहेको जनाएको छ । अध्यक्ष नेपालले बाढी, पहिरोलगायतका विपद्को यस घडीमा आफूहरूले जनजीवनलाई सहज बनाउन सक्दो काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

अध्यक्ष नेपालले भने ‘हामी पारदर्शी छौं । हामीमा कुनैपनि किसिमको कपट छैन । कसैलाई पनि हामी इस्र्याको भावनाले हेर्दैनौँ । त्यसैकारण हामीले भन्ने गरेको छौ–पोलिटिसियन आर वेलकम बट नट पोलिटिक्स ।’

अध्यक्ष नेपालले रेडक्रस सोसाइटीको वर्तमान नेतृत्वले सुधारको काम धेरै गरेको दाबी समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *