पुरानै जिम्मेवारीमा फर्किइन् राप्रपा नेतृ अन्जना शाह

काठमाडौं । पार्टीभित्रको अन्तर्विरोधको असन्तुष्टिले साधारण सदस्य समेत नरहनेगरी राप्रपाबाट बाहिरिएकी नेतृ अन्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन् । शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू जिम्मेवारीमा फर्किएको शाहले जनाएकी हुन् ।
संगठनभित्र चरम असहयोग र काम गर्ने अवस्था नभएको भन्दै गत असार ५ गते अन्जनाले महिला संगठनको अध्यक्षसहित राप्रपाको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकी थिइन् । उनले आफू र आफ्नो परिवार राप्रपाको मतदाता समेत नरहने घोषणा गरेकी थिइन् ।
तर बुधबार उनले पार्टीको शीर्ष नेताहरूको निर्देशनको कारण राजीनामा फिर्ता लिएको बताएकी छन् । ‘मलगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहनेगरी राजीनामा दिएका थियौँ । तर पूर्वअध्यक्ष पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु ।’ उनले भनेकी छन्, ‘देशभरिका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको अगाध मायाले सक्रिय बन्न लागेकी हुँ ।’
उनले आगामी दिनमा विगतमा जस्तै सक्रिय भएर पार्टीगत काममा लाग्ने प्रतिबद्धता जनाएकी छन् । उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी हुन् । जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी उनी एक्लो संगठनकी अध्यक्ष थिइन् ।










