सहकारी पीडितसँग छलफल गर्दै संसदीय छानबिन समिति (भिडिओ)

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले पीडितहरूसँग छलफल गर्ने भएको छ ।
मंगलवार सिंहदरबारमा बसेको सो विशेष समितिको बैठकले असार २६ गते बुधवार (भोलि) पीडितहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।
सहकारीका पीडितहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने निर्णय गरिएको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।
आजको बैठकमा सहकारी विभागका पदाधिकारीसँग छलफल गरिएको थियो ।
बुधवार पीडितहरूसँग छलफल गरी त्यहाँ भित्रको समस्या समाधानका लागि थप तथ्यहरूको खोजी गर्ने काम हुने पनि विशेष समितिले जनाएको छ ।
सभापति थापाले भने ‘भोलि हामीले पीडितका प्रतिनिधिहरूसँग प्रतिनिधिमूलक ढंगले छलफल गर्ने योजना बनाएका छौं । २९ वटै सहकारी र अरु पनि सहकारीका प्रतिनिधिमूलक पीडितहरूलाई बोलाएका छौं । सबै पीडितहरू बोलाएर छलफल गर्न सम्भव हुन्न । हामीले विभिन्न संघर्ष समितिका रुपमा, व्यक्तिगत रुपमा अनेक हिसाबले सहकारीबाट पीडित रहेका पीडितहरूको कुरा सुन्ने कार्यक्रम बनाएका छौं ।’
विशेष समितिले यसअघि सम्बन्धित निकाय र विज्ञहरूसँग छलफल गरेको थियो ।
अब पीडितहरूसँग पनि छलफल गरी सहकारी क्षेत्रमा देखिएको समस्या र समाधानको उपायहरूको खोजी गरिने पनि विशेष समितिका सभापति थापाले बताए ।








