नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ छैन : उर्जामन्त्री

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले नयाँ सत्ता समीकरणको बारेमा दोहोरी खेल्नुको अर्थ नरहेको बताएका छन् ।
मंगलवार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ समीकरणको कुरा आइरहेको भएपनि यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ नभएको बताए ।
‘अहिले जुन नयाँ समीकरणको कुरा आइरहेको छ, यसलाई धोका, प्रतिधोकाको अर्थमा दोहोरी गर्नुको धेरै अर्थ छैन । यो सोचको कुरा हो, दृष्टिकोणको कुरा हो,’उनले भने,‘यो नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्ने उहाँहरुले नै सार्वजनिक गरिसक्नुभएको छ ।’
उनले नयाँ गठबन्धन निर्माणको आधार संविधानको तोडफोड गर्नु रहेको आरोप लगाए । उनले संविधानको रक्षा गर्ने, मुलुकलाई जोड्ने कुरामा आफूहरु लागेको बताए ।
उनले मुलुकका दुई ठूला दल संविधानलाई दोष देखाएर जनताको अधिकार सिमित गर्ने प्रयासमा लागेको बताए ।
मन्त्री बस्नेतले कुन पार्टी सरकार छ र छैन भन्नेकुरा गौण विषय रहेको बताए ।
‘उहाँहरुले मुलुकलाई ध्रुविकरणको दिशातिर लैजान खोजिरहनुभएको छ । यो अवस्थामा माओवादीले गम्भीरताका साथ लिनुपर्छ,’उनले भने,‘प्रश्न देशको आर्थिक विकास, र समृद्धिको दिशामा लैजाने हो । मुलुकका दुई ठूला दलले संविधानलाई दोष देखिरहनुभएको छ । उहाँहरु जनताको अधिकार सिमित गर्ने बाटोमा हिँडिरहनुभएको छ ।’








