देशका समस्या सम्बोधन गर्न कांग्रेस-एमाले एक भयौँ : प्रकाशशरण महत

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा.प्रकाशशरण महतले देशका समस्याहरू सम्बोधनका लागि नेपाली काँग्रेस र नेकपा एमाले एक भएको बताएका छन् ।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले गठबन्धन परिवर्तन गरिरहने, एक अर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठिक दिशामा नलैजाने भएकाले काँग्रेस एमाले मिल्नुपरेको बताए ।
‘गठबन्धन परिवर्तन गरिरहने, कहिले एउटा दल, कहिले अर्को दलको प्रवृत्तिले देशलाई ठिक बाटोमा लगेन । आम जनतालाई पनि विश्वास दिन सकेन,’उनले भने,‘कुरा धेरै भए, काम उल्टो भयो । त्यो परिवेशमा देशका जल्दोबल्दो समस्या समाधान गर्ने हो भने दुई ठूला दल बाँकी समयमा स्थिर सरकार बनाउन हामी लागेका हौँ ।’
उनले वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको बताए । उनले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताए ।
उनले संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएका बताए ।
उनले सबैलाई मान्य हुनेगरी मन्त्रालयको बाँडफाँड हुने बताए ।
‘बाँकी समयलाई स्थिरतातर्फ लैजान, संविधानमा रहेका समस्या, खासगरी निर्वाचन पद्धति, समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न सकिन्छ,’उनले भने,‘त्यसले अस्थिरताका बिन्दुलाई कम गर्न सकिन्छ भनेर हामी एक ठाउँमा आएका हौँ । हाम्रो देशमा सबैलाई जिम्मेवारी दिऊँ भन्ने मानसिकता छ । यद्यपि त्यसमा अनुभव र क्षमतालाई पनि त्यत्तिकै महत्त्व दिनुपर्छ ।’








