बालाजुको २२ धाराबाट होइन, संविधानको धाराबाटै ओली प्रधानमन्त्री हुन्छन् : ईश्वरबहादुर रिजाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद ईश्वरबहादुर रिजालले नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार संविधानको धाराभित्रैबाटै नयाँ सरकार बन्ने बताएका छन् ।

आजको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले कतिपय पार्टी र नेताले नयाँ बन्ने सरकारका विषयमा प्रश्न उठाएको भन्दै संविधानको सीमाभन्दा बाहिर गएर कुनै कार्य नगरिने स्पष्ट पारे ।

‘संविधानको धाराबाटै सरकार बन्ने हो, बालाजुको २२ धाराबाट बन्दैन । एमालेसहित होस् वा एमालेकै नेतृत्वमा सरकार बनोस्, हाम्रा आफ्नै मूल्य र मान्यता छन्, त्यहीअनुसार अगाडि बढ्छौँ’, उनले भने ।

सांसद रिजालले वर्तमान प्रधानमन्त्रीले चारपटक विश्वासको मत लिइसकेकाले यस्तो किन भइरहेको छ भन्नेबारे उहाँले नै समीक्षा गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘वर्तमान प्रधानमन्त्री गतिशील मान्छे हुँ भन्नुहुन्छ तर व्यवहार हेर्दा त्यस्तो देखिँदैन । चारपटक यही थलोबाट विश्वासको मत लिइसक्नुभएको छ । छोटो समयमै यस्तो सहयात्री दलहरूका कारणले मात्रै भएको होला कि उहाँमा पनि केही कमजोरी होलान्, समीक्षा आवश्यक छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले लामो समय शासन गरेका ठूला दलका नेताले राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको योगदानबाहेक सुशासन पनि मौलाएको टिप्पणी गरे ।

उनले संसद्का दुई ठूला दलबीच सत्ता सहकार्यका लागि भएको सहमतिपछि नयाँ सरकार नबनेसम्म आफूहरू सरकारमा रहेर कार्यसम्पादनमा लागिरहने बताए ।

कांग्रेस सांसद डा आरजु राणाले विगत १० वर्षदेखि नेपालका हिमताल सुक्ने क्रम बढ्दै गएका र अनियमित वर्षाले बाढी बढिरहेको बताइन् । हिमताल फुट्दा पनि ठूलो विपद् आउन सक्ने उल्लेख गर्दै उनले जलस्रोत मन्त्रालयले दीर्घकालीन योजना बनाउन जरुरी रहेको बताइन् ।

डा राणाले भनिन्, ‘जलस्रोत मन्त्रालयमा अहिले वेबसाईडमा जलस्रोत शाखा छ तर केही पनि तथ्याङ्क छैन । हिमतालका बारेमा अध्ययन गराउन जरुरी छ ।’ भूमिसुधार मन्त्रालयले जनताको सुरक्षाका लागि व्यवस्थित बस्ती बसाउन र खेती गर्ने योजना बनाउन अध्ययन आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले नेपालको संविधानअनुसार विश्वासको मत लिन लागेका बताउँदै सदनको फेस गर्छु भन्नु अनैतिक नहुने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *