सांसद कार्कीले खोजिन् गृहमन्त्री, चौधरीले औँल्याए अस्थिरताको कारण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रवि लामिछानेको खोजी गएकी छन् ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद कार्कीले देशभर बाढी, पहिरो र डुबानमा परेर जनताहरू त्रासमा रहेको बेलामा गृहमन्त्री संसद बैठकमा समेत नआएको भन्दै गृहमन्त्रीको खोजी गरेका हुन् ।

उनले देशभर विपद्को अवस्था कस्तो छ सो को बारेमा संसद बैठकमा जानकारी गराउन माग गरिन् ।

उनले गृहमन्त्री आफ्नै फाइल खुल्ने हो कि भनेर संशकित भएको बताइन् । उनले यतिबेला फाइलको कुरा गर्ने बेला नभएको भन्दै जनतालाई संकटबाट मुक्त गर्न सोच्नुपर्ने बताइन् ।

उनले भनिन् – ‘यत्रा नागरिकहरू मरिराखेका छन् । डुबानमा परिराखेको छ । बाढी, पहिरो चारैतिर त्राहिराम छ । तर उहाँ (गृहमन्त्री)यहाँ उपस्थित हुनुभएन । म उहाँको मनस्थिति बुझ्छु, उहाँलाई अत्यन्तै पीडाबोध भएको छ । किनभने फाइलहरू त खुल्न थालेका छन् । यो त अर्को सरकारले पनि खोलिदिएला । कहीँ उहाँ आफ्नै फाइलसँग पनि सशंकित हुनुहुन्छ कि जस्तो लाग्यो । यो फाइलका कुरा, बेचन झाका कुराहरू अहिले गर्ने बेला होइन । यो त नेपाली जनतालाई कसरी संकटबाट मुक्त गर्ने भन्नेकुरा सोच्नुपर्ने बेला हो । बर्सातको समय बाँकी छ । जनतालाई मर्न नदिने कुरा सोच्ने बेलामा अर्कै कुरा गर्नुहुन्छ । आएर सत्यतथ्य जानकारी दिनुस् संसदलाई । यो तपाईँको कर्तव्य हो । गृहमन्त्री यहाँ उपस्थित हुनुपर्छ ।’

नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले अस्थिरताको मूल कारण प्रधानमन्त्रीको कुर्सी मोह भएको बताए । उनले देश नबन्नुमा एकले अर्कोलाई दोषारोपण गरिने गरेको भन्दै विगत ३५ वर्षमा ज–जसले सरकारको नेतृत्व गरे उनीहरु सबै दोषी भएका बताए ।

उनले भने ‘देश नबन्नुमा २०४६ सालदेखि अहिलेसम्म ३५ वर्षको अवधिमा जो–जोले नेतृत्व गर्नुभयो । उहाँहरू सबै दोषी हुनुहुन्छ । अझै पटक–पटक प्रधानमन्त्री बन्नुभएको सबैभन्दा धेरै दोषी हुन्छ । दुई तिहाइ वरिपरिको सरकार पनि चलाउन नसक्ने, सहयात्री दलहरूले सहयोग गर्दा पनि समीकरण फेरिरहने, १८ महिनामा ५ पटकसम्म विश्वासको मत लिनुपर्ने अवस्थाको सिर्जनाको मूल कारक नेतृत्व नै हो । संघमा हुने सहयात्री दलहरूको फेरबदलका कारण सातवटै प्रदेशमा फेरबदल हुन थाल्छ । यो बाहेक अरु केही हुन सकेको छैन । यसको कारण अरु केही नभएर प्रधानमन्त्रीको चरम कुर्सी मोह नै हो ।’

उनले सत्ता सहयात्री दलहरूले साथ दिँदादिँदै पनि समीकरण फेरिरहने नेतृत्व अस्थिरताको मूल कारण भएको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + two =