कांग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री दाहालको पनि हित हुन्छ : योगेश भट्टराई

काठमाडौँ । नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योेगेशकुमार भट्टराईले काँग्रेस–एमाले सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताएका छन् ।
शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो ।
सचिव भट्टराईले भने ‘संविधान संशोधन गर्न त्यति सहज छैन । त्यो सहज छैन भनेर नै हामी काँग्रेस– एमाले एक ठाउँ आएका हौँ । हामी दुई एक ठाउँ नआई त यो सम्भावना नै छैन । किनभने दुई तिहाइ बहुमत एमालेले कुनै कोलिएशन बनाए पनि पुग्दैन । गाह्रो छ । काँग्रेसले अलग्गै कोलिएशन बनाए पनि पुग्दैन । त्यो पनि सम्भावना देख्या छैन भने माओवादीको त झन् त्यो सम्भावना छैन । त्यसैले संविधानमा पुनरावलोकन गर्नुपर्ने र आवश्यकता भए संशोधन पनि गर्नुपर्ने हामीलाई जुन आवश्यकता महसुस भयो । त्यो आवश्यकताले नै नेपाली काँग्रेस र हाम्रो बीचमा एउटा सहमति बनेको हो । त्यो सहमतिले संघीय संसदमा दुई तिहाइ कमान्ड गर्छ । दुई वटा पार्टीले मात्रै संख्या पुग्दैन । त्यो ठिक छ । हामी अरु पार्टीको पनि त्यसमा साथ लिन्छौँ । हाम्रो भनाई त के छ भने माओवादीले पनि संविधान संशोधनमा हामीलाई साथ दिन्छ भन्ने छ ।’
सोमवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि स्पष्ट पारे । उनले काँग्रेस–एमालेबीचको सहकार्यविना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरूलाई साथ दिने तर्क गरे ।
सचिव भट्टराईले नयाँ सत्ता समीकरणसँग टाढिएर प्रधानमन्त्री दाहालले अन्यत्रै बाट अघि बढ्ने बाटो नभएको दाबी समेत गरे । उनले प्रधानमन्त्री दाहाल अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरूले जिस्क्याउन नचाहेको पनि बताए ।
उनले भने ‘हिजो पनि चुच्चे नक्सा जारी गर्दा पनि संविधान संशोधन भयो । सर्वसम्मतबाट त्यो काम भएको हो । भनेपछि संविधान संशोधन हामी सकेसम्म दुई तिहाइ बहुमतबाट गर्ने बाटोमा लाग्दैनौँ । सर्वसम्मत ढंगले गर्ने बाटोमा लाग्छौँ । र, त्यो बाटोमा लाग्दा नेकपा (माओवादी केन्द्र) को पनि समर्थन हामीले लिन्छौँ । रिसाएको बेलामा, आक्रोश भएको बेलामा मान्छेलाई धेरै जिस्क्याउनु हुँदैन । प्रचण्ड कमरेड अहिले रिसाउनुभएको छ, आक्रोशित हुनु भएको छ । त्यसकारणले उहाँलाई जिस्क्याउन गयो भने झम्टिनु पनि हुन्छ । अहिले उहाँलाई जिस्क्याउने होइन । अहिले उहाँलाई सम्झाउने हो । उहाँ उत्तेजनामा, आक्रोशमा आएर गलत बाटो लिनुहुन्छ भन्ने हामीलाई लाग्दैन । अव गलत बाटोमा गएर पनि कुनै उपाय छैन । कुनै निष्कर्ष निक्लिँदैन । कुनै निष्कर्ष उहाँले दिन सक्नुहुन्न । त्यसैले यो सम्पूर्ण प्रक्रियामा काँग्रेस र एमालेले चालेको प्रक्रियामा सँगै बसेर हिँड्दा नै उहाँको कल्याण छ । त्यसले नै शान्ति प्रक्रियालाई पनि सही निष्कर्षमा पु¥याउँछ । संविधानलाई गतिशील बनाउँछ । मुलुकलाई सही दिशामा अघि लैजान्छ । त्यसका हामी कमरेड प्रचण्डलाई सम्झाउँछौँ । झम्टिन जान्दैनौँ ।’
त्यस अवसरमा सचिव भट्टराईले प्रधानमन्त्री दाहालको व्यक्तित्वका कारण आफूहरूले सानो दल भएर पनि प्रधानमन्त्रीमा स्वीकार गरेको पनि उल्लेख गरे ।
उनले भने ‘मैले हिजो उहाँलाई संसदमा सम्झाएको छु । हामीले पुष्पकमल दाहालजीको व्यक्तित्वलाई सम्मान गरेर प्रधानमन्त्रीमा समर्थन गरेको हो । माओवादीको संख्यालाई समर्थन गरेको होइन । यो शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पर्याउनु छ । यावत कामहरु गर्नुछ । त्यसकारणले यो सबै प्रक्रियाका मुख्य नेता मध्येको एक हुनुको नाताले, मुख्य नेता धेरै छन । त्यस मध्येको एउटा मुख्य नेता हुनुको नाताले उहाँलाई ३२ सिटको पार्टीको नेता हुँदाहुँदै पनि काँग्रेसले पनि, हामीले पनि प्रधानमन्त्री स्विकारेको उहाँको व्यक्तित्वले हो । माओवादीको आजको संख्याले होइन । त्यसैले उहाँजस्तो एउटा व्यक्ति, जसले यो समग्र प्रक्रियामा भाग लिँदै आउनुभएको छ । नेतृत्व गर्दै आउनुभएको छ ।’








