संसदमा एमालेको एकै स्वर– प्रधानमन्त्रीले अविलम्व राजीनामा दिनुपर्छ

काठमाडौं । नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा आकस्मिक समयमा बोल्दै नेकपा(एमाले)का सांसदहरुले प्रधानमन्त्रीको अविलम्व राजीनामा माग गरेका हुन् ।
सांसदहरुले प्रधानमन्त्रीले बहुमत गुमाइसकेकोले सरकारमा बसिरहन नैतिक आधार गुमाइसकेका बताएका छन् । सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनःस्थापनामा प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै छिटोभन्दा छिटो बलियो सरकार आवश्यक भएको सांसदहरुको भनाई छ ।
बैठकमा बोल्दै नेकपा(एमाले) कि सांसद विद्या भट्टराईले काम गर्नसक्ने सरकार बनाउन नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
‘बाढी पहिरो र डुबानबाट बिस्थापित भएका तथा जोखिममा रहेका पीडित र प्रभावितहरुका लागि आवश्यक संरक्षण, राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीर हुनुपर्छ,’उनले भनिन्,‘तर आज सरकार कहाँ छ ? के छ भन्ने कुरामा हामी सबै प्रश्न र मौन भएर बस्ने स्थिति बनेको छ । सरकारलाई काम गर्न सक्ने बनाउनका लागि अब नयाँ सरकारलाई जिम्मेवारी दिनका लागि हामी तयार हुनुपर्छ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’
नेकपा(एमाले) का सांसद अच्युतप्रसाद मैनालीले विपद्ले देशभर धेरै घटनाहरु भइरहेका भएपनि सरकार कानमा तेल हालेर बसेको बताए ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन माग गरे ।
‘तमाम समस्याहरुका बाबजुद आज सरकार कानमा तेल हालेर बसेको छ । म प्रधानमन्त्री तथा गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन सुझाव पेश गर्छु,’उनले भने,‘गृहमन्त्रीलाई तत्काल सदनमा आएर यि सबै घटनाहरुको बारेमा जानकारी दिन माग गर्छु । होइन भने नैतिकताको आधारमा राजीनामा दिन सुझाव दिन चाहन्छु ।’
नेकपा(एमाले)का सांसद किरणकुमार साहले पनि प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए ।
उनले विपद्को यो समयमा बलियो र स्थिर सरकारको आवश्यकता रहेको बताए । बलियो सरकारले मात्रै प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्न सक्ने उनले बताए ।
‘वर्तमान प्रधानमन्त्रीले आफ्नो बहुमत गुमाइसकेका छन् । जसले देशलाई थप अस्थिरता र अन्यौलमा पु¥याएको छ । संकटको घडीमा बलियो र स्थिर सरकारको आवश्यकता छ,’उनले भने,‘जसले प्रभावकारी ढंगले बाढी, पहिरो र अन्य प्रकोपहरुको सामना गर्नसक्छ । प्रधानमन्त्रीले नैतिकताको जिम्मेवारी लिनुपर्छ र राजीनामा दिनुपर्छ ।’
नेकपा(एमाले)का सांसद वासुदेव घिमिरेले सरकारले विपद्को यो समयमा उद्धार राहत र पुनःस्थापनाको काम सरकारले अगाडी बढाउन नसकेको बताए ।
उनले प्रधानमन्त्रीले राजीनामा दिन आनाकानी गरिरहेको भन्दै अविलम्व राजीनामा दिएर माग प्रशस्त गर्न आग्रह गरे ।
उनले निर्माण व्यवसायीलाई रोकिएको भुक्तानी समयमै दिन पनि सरकारलाई आग्रह गरे ।








