संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : नवनियुक्त सचिव अधिकारी

काठमाडौँ । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताएका छन् ।
बुधवार सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको कामलाई व्यवस्थित गर्न भुमिका खेल्ने बताएका हुन् ।
उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडी बढ्ने बताए । उनले संसदको काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भुमिका रहने बताए ।
उनले भने – ‘मेरो मुख्य भुमिका भनेको प्रतिनिधि सभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पुर्याउनु हो । र सम्माननीय सभामुखज्यूको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेन्डाहरूको बारेमा अध्ययन गर्ने र पेस गर्ने लगायतका कामहरु पर्छन् । सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भुमिका रहनेछ ।’
सचिव अधिकारीले बुधवार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । उनलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका हुन् । सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुन् ।








