श्रममन्त्रीको दाबी- ‘नेताको भाषणबाट मुलुकको समृद्धि हुँदैन’

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले मुलुकको समृद्धि निजी क्षेत्रको प्रयासबाट मात्रै हुनसक्ने दाबी गरेका छन् ।
सोमवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३२ औँ स्थापना दिवसका अवसरमा आयोजित ३० औं वार्षिक साधारण सभामा बोल्दै श्रममन्त्री अर्यालले मुलुकको समृद्धि नेताको भाषणबाट नहुने बताएका हुन् ।
उनले भने ‘मुलुकका राजनीतिक नेताहरूले गरेको भाषणबाट देश समृद्ध बन्न सम्भव छैन । वैदेशिक रोजगारमा जाने नेपालीहरूबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भीर हो । यो विषयमा सरकार चुप लागेर बस्न सक्दैन । सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ कारोबार भएको छ । त्यसलाई बैंकिङ कारोबारमा ल्याउने गरी नीतिमा काम गरिरहेका छौं ।’
उनले विदेशबाट स्वदेश फर्किएका नेपालीहरूले फेरि विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न सरकारले आवश्यक काम गर्नुपर्ने बताए । उनले सरकारले वैदेशिक रोजगार व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न आवश्यक रहेको बताए । उनले वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने दुवै नेपाली नागरिक भएकाले व्यवसायी र सरकार मिलेर ठगी रोक्न आवश्यक रहेको बताए ।
उनले म्यानपावर व्यवसायीहरूलाई भिजिट भिसामा पठाउने र वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्न म्यानपावर व्यवसायीको संलग्नतामा भएको पाइएको भन्दै त्यस्तो काम तत्काल बन्द गर्न आग्रह गरे । उनले सबै नेपालीहरूले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना भएको भन्दै मेनपावर व्यवसायीसँग दुस्मन कमाउने कुनै रहर नभएको बताए । उनले नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण म्यानपावर व्यवसायीहरूले नै बनाउनु भएको भन्दै मेनपावर व्यवसायीहरूप्रति आफ्नो कुनै गुनासो र रिस नभएको बताए ।
उनले भने ‘वैदेशिक रोजगारीमा लैजाने भनेर ठग्ने र ठगिने पनि नेपाली नागरिक नै भएकाले व्यवसायी र सरकार मिलेर गठी रोक्ने काम गर्न आग्रह गरेको छु । भिजिट भिसामा गएका नेपालीहरू नेपाली व्यवसायीहरूको संलग्नता देखिन्छ । वैदेशिक रोजगार कार्यालयबाट व्यक्तिगत भनेर श्रमस्वीकृत गर्ने विषयमा मेनपावर व्यवसायी कै संलग्नतामा व्यक्तिगत बनाइएको छ । तथ्याङ्कले प्रमाणित गरेको छ । भिजिट भिसा र व्यक्तिगत श्रमस्वीकृत व्यवसायीहरूले गराउने काम बन्द गर्नुस् । सबै नेपालीहरूले सम्मानजनक तरिकाबाट व्यवसाय गर्न बाच्नको लागि सहयोगीको भुमिका खेल्ने चाहना हो । मन्त्रालयमा गएर स्र्टन गरेर मेनपावर व्यवसायीसँग दुस्मन कमाउने कुनै रहर छैन । नेपाली नागरिकलाई विदेशमा गएर कमाउने वातावरण मेनपावर व्यवसायीहरूले नै बनाउनु भएको हो । मेनपावर व्यवसायीहरू प्रति मेरो कुनै गुनासो र रिस राग छैन । मुलुक समृद्ध बन्छ भने निजी क्षेत्रको प्रयासबाट मात्रै बन्छ । यो कुरामा दुई मत छैन । ‘
उनले वैदेशिक रोजगारमा जाने नेपालीहरूबाट २ खर्ब बढी रकम उठाएको विषय गम्भीर रुपमा लिएको भन्दै यो विषयमा सरकार चुप लागेर बस्न नसक्ने बताए । उनले सरकारले गरेको अध्ययनबाट २०१ अर्ब ६० करोड रुपैयाँ गैरबैंकिङ प्रणालीमा ल्याउने गरी नीति बनाउने काम गरिरहेको बताए ।








