उपाध्यक्ष घिमिरेको गुनासो- ‘सत्ताको खेलले संसद प्रभावकारी हुन सकेन’

काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले सत्ताको खेलले गर्दा संसद प्रभावकारी हुन नसकेको बताएकी छन् ।
आइतबार संसद भवनमा ६६ औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । उनले संसदमा नीति निर्माण भन्दा सत्ताका लागि बढी केन्द्रित हुने कुराले संसदीय गतिविधि प्रभावकारी हुन नसकेको बताइन् ।
अग्रजका सल्लाह सुझावबाट संसदलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताइन् । उनले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अझ व्यवस्थित बनाइ जनताका निमित्त ल्याइएको व्यवस्था हो भन्ने देखाउन जरुरी रहेको बताइन् । उनले संविधानले दिएका उपलब्धिको रक्षा गर्न सके अहिलेको व्यवस्था उत्कृष्ट रहेको जिकिर गरिन् ।
उनले भने ‘अग्रजहरूले विभिन्न समयमा भेटेर झकझक्याउनु भएको छ । हामीलाई भेटेर गर्नुपर्ने सुझाव दिनुभएको छ । ती यहाँहरूका सुझाव भनेका हाम्रो निम्ति ऊर्जा हुन् । ती ऊर्जालाई लिएर हामीले संसदलाई प्रभावकारी बनाउनु पर्छ । जुन व्यवस्था हामीले ल्याएका छौँ, व्यवस्थित गर्न खोजिरहेका छौँ । कहिले कहीँ व्यवस्थाप्रति पनि गम्भीर आरोप लाग्ने, जनताबाट पनि केही चिन्ताहरू व्यक्त हुने यो कुरा अघि नै पूर्वसभामुखज्युले भनेको जस्तै कहिले कहीँ यो अलि बढी सत्ताको खेलले गर्दा पनि त्यहाँ नगईकन आफ्ना, नीति, कार्यक्रमहरू लागू गर्न सकिँदैन भन्ने तहबाट मात्रै नभएर आफूलाई अलि बढी सत्ता लिप्साम अगाडि बढाउन खोज्दा पनि त्यस्तो निराशा आएको हो की ? भन्नेकुरा जनतामा छन् । यो व्यवस्था हामीले व्यवस्थित गर्नसक्यौँ भने, यो व्यवस्थालाई हामीले थप यसका मूल्य, मान्यताहरूलाई व्यवस्था गर्नसक्यौँ भने हाम्रो संविधानले दिएका उपलब्धिको रक्षा गर्नसक्यौँ भने हामीले ल्याएको व्यवस्था उत्कृष्ट छ । यो उत्कृष्ट व्यवस्थालाई जनताको बीचमा विशेष गरी जनताको जीवनसँग जोड्न सके यो व्यवस्था उत्कृष्ट छ भन्नेकुरा हामीले स्थापित गर्न सक्नुपर्छ ।’
उनले यस व्यवस्थालाई जनतासँग जोड्न आवश्यक रहेको बताइन् ।








