मुलुक विदेशीहरुको चक्रव्युहमा फस्यो : सिपी मैनाली

काठमाडौं । नेकपा (माले) का महासचिव सिपी मैनालीले मुलुक विदेशीहरुको चक्रव्युहमा फसेको बताएका छन् ।
दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीहरुले आफ्नो नियन्त्रणमा लैजाने रणनीतिक लक्ष्य बनाएको महासचिव मैनालीको जिकिर थियो ।
पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई विदेशीहरुको नियन्त्रणबाट मुक्त गर्न नेपालका कम्युनिष्ट पार्टीहरुले आफ्नो विगतलाई समिक्षा गरेर अघि बढ्नुपर्ने बताए ।
महासचिव मैनालीले मुलुकमा तत्काल जनवाद आउने सम्भावना नभए पनि कम्युनिष्टहरुले आफ्ना कमजोरी सुधार गर्दै अघि बढे समाजवाद निर्माणको आधार भने बताउन सक्ने बताए ।
उनले भने– ‘अब दलहरुलाई प्रयोग गरेर नेपाललाई विदेशीको नियन्त्रणमा लैजाने दोस्रो रणनीतिक लक्ष्यमा लागेको छ । यस्तो खालको कमजोरीहरु हाम्रोमा छन । अहिले तत्कालै जनगणतन्त्र, तत्कालै समाजवाद आउने कुरा त म देख्दिन । तर अहिले तत्कालै एउटा फेरी एउटा राजनीतिक परिवर्तनको आवश्यक्ता देखिएको छ । त्यसका कार्यक्रमहरु, त्यसका लक्ष्यहरु, विधिहरु के हुन सक्लान ? अहिले मैले भन्न पाईन । अहिले मुलुक विदेशीहरुको चक्रव्युहबाट मुक्त भएर स्वतन्त्र समाजको रुपमा अघि जानसक्छ । देशमा जनसत्ता आउन सक्ला । र पूँजीवाद विरोधी समाजवाद निर्माण गर्ने परिस्थितिको सृजना हुनसक्ला ।’
महासचिव मैनालीले नेपालमा अहिले पनि कम्युनिष्ट शक्तिहरुबीच एकता भईहाल्ने अवस्था नरहेको पनि बताए ।








