नेपाल प्रहरीमा धेरै राजनीतिकरण भयो, आफ्नो औचित्य पुष्टि गर्न सकेन : सांसद गुरुङ

काठमाडौँ । नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरू लोकतान्त्रिक हुन नसकेका बताएका हुन् । उनले राज्यका सबै संयन्त्रहरूलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराए ।
उनले नेपालको कर्मचारीतन्त्र ब्रिटिश लिगेसीमा हुर्केको र राणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको बताए । नेपाल प्रहरीमा चरम राजनीतिकरण भएर नेतापिच्छेका प्रहरीका हाकिम भएका उनले बताए । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता, पुष्टि गर्न नसकेको उनको भनाई छ ।
उनले भने ‘गणतन्त्र स्थापनापछि हाम्रो कर्मचारीतन्त्र नयाँ बनाउन सकेका छैनौँ । ३००/४०० वर्ष अगाडी ब्रिटिश लिगेसीमा हुर्केको कर्मचारीतन्त्र, राणा शासनले, शाह शासनले, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्त्विक फरकपन ल्याउन सकेको छैन । त्यसमा लोकतान्त्रीकरण हुन बाँकी छ । त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ । जनमुखी, गणतन्त्रमैत्री बनाउन बाँकी छ । नेपाल प्रहरीमा यति धेरै राजनीतिकरण भयो । बहुदलीय कालमा र अहिलेसम्मको अवधिभित्र । हामी राजनीतिक दलहरूले प्रहरीलाई पंगु बनाएका छौँ । यतिधेरै राजनीतिकरण भयो, पार्टीकरण भयो । गुटकरण भयो । व्यक्तीकरण भयो अहिले । नेता–नेताको प्रहरीको हाकिम छन् । प्रहरीले आफ्नो स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति बनेको छैन अहिले । प्रहरीले आफ्नो औचित्य, सान्दर्भिकता, श्रेष्ठता, पुष्टि गर्न सकेको छैन । किनभने प्रहरीलाई ध्वस्त बनाएका छौँ हामीले । नेपाल प्रहरीलाई वा सशस्त्र प्रहरीलाई लोकतान्त्रीकरण नगरीकन संघीय लोकतान्त्रिक गणतन्त्रले आफ्नो प्रतिफल प्राप्त गर्न सक्दैन । एउटा प्रहरीले कुनै व्यक्तिले मुद्दा हाल्यो भने प्रहरीले उजुरी लिन सक्दैन । नेतासँग सोधेर मात्रै । मन्त्रिहरेसँग सोधेर मात्रै । सांसदहरूसँग सोधेर मात्रै लिने कि नलिने भनेर फैसला गर्छ । कतिधेरै राजनीतिकरण भयो ? कति धेरै भ्रष्ट बनाइयो ? यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठ्न सक्दैन ? सुशासनको अभिष्ट पूरा गर्न सक्दैनौँ । शान्ति, सुव्यवस्था कायम गर्न सक्दैनौँ । नेपाली सेनालाई गणतन्त्रमैत्री बनाउन सकिएको छैन । यो सबैभित्र लोकतान्त्रीकरण गर्नुपर्छ । सरकारका पुराना संयन्त्रहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाऔँ ।’
उनले नेपाली सेना र सशस्त्र प्रहरी पनि गणतन्त्रमैत्री हुन नसकेका बताए ।








