रास्वपालाई सहकारी ठगीबाट रविलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहकारी ठगीबाट पार्टी सभापतिलाई कसरी जोगाउने भन्ने मात्रै चिन्ता रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट कसरी जोगाउन सकिन्छ ? भन्ने चिन्ता रहेको पार्टीले देश बनाउन नसक्ने बताए ।
‘सरकार सिंगो अस्तित्व हो तर आज सिंगो अस्तित्व नदेखिएर टुक्रा टुक्रा देखिएको छ,’ उनले भने,‘एउटा दललाई कसरी हुन्छ आफ्नो दलको सभापतिलाई सहकारी ठगीबाट जोगाउन सकियोस् । कारबाहीको प्रक्रियाबाट जोगाउन सकियोस् । एउटा दलको चिन्ता जम्मा त्यति मात्रै छ ।’
उनले नेकपा एमालेप्रति लक्षित गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेट प्रकरणबाट जोगाउन लागिपरेको बताए ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री पदलाई दमदार बनाउनुपर्छ भन्नेगरी काम गर्न नसकेको बताए ।
उनले प्रधानमन्त्री दाहालाई गणित मिलाएर सरकारमा रही रहने कुरामा मात्रै ध्यान रहेको बताए ।
‘अर्को दलको चिन्ता कसरी हुन्छ आफ्नो अध्यक्ष गाँसिएको गिरिबन्धुको ठगीबाट अध्यक्षज्युलाई जोगाउन सकियोस् भन्ने छ । प्रधानमन्त्रीजीलाई चिन्ता गणितलाई कसरी रक्षा गर्ने भन्ने मात्रै छ,’उनले भने,‘प्रधानमन्त्रीको पद शानदार हो, शानदार मात्रै होइन, दमदार पनि हो भन्नेकुरा बिर्सिनुभएको छ । प्रधानमन्त्रीजी उपप्रधानमन्त्रीले बोलेको कुराको जवाफ दिएर बस्नुपरेको छ ।’
महामन्त्री शर्माले नेपालमा आशावादी सम्भावनाहरु रहेको भएपनि त्यसलाई सही सदुपयोग गर्न नसकेको बताए ।








