कुनै जात, धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन गरिएको छैन : मन्त्री तामाङ

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आफ्नो मन्त्रालयले कुनै जात, धर्म र सम्प्रदाय विशेष बजेट विनियोजन नगरेको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री तामाङले आफूले बजेट विनियोजन गर्दा धर्म निरपेक्ष मुलुक हो भन्ने कुरामा सचेत रहेर गरेको बताए । उनले कुनैपनि जात, धर्म र सम्प्रदाय केन्द्रित हुनेगरी बजेट विनियोजन नभएको बताए ।

उनले योजना माग गरेर आएको निवेदनहरू मध्येबाट सबैलाई समेटेर सन्तुलित बनाउने गरी बजेट विनियोजन भएको बताए । उनले २०७२ सालको भूकम्पले क्षति पुर्याएका २१५ वटा गुम्बाहरू सरकारको निकायमा सूचिकृत भएको र ती गुम्बाहरू बनाउनु सरकारको दायित्व भएकाले आफूले केही गुम्बाहरूलाई बनाउनका लागि बजेट विनियोजन गरेको बताए ।

उनले भने ‘मैले प्राप्त भएको निवेदन धेरै त समेट्न सकिएन होला तर सकभर हामीले धर्म निरपेक्ष मुलुकको सरकार भएको नाताले र त्यसको पक्षपाती पनि भएको नाताले हामीले अधिकतम त्यसलाई सन्तुलित बनाउनुपर्छ । जुन जात विशेष, धर्म विशेष, कुनै सम्प्रदाय विशेषमा केन्द्रित हुने खालको कार्यक्रम गर्नुहुँदैन भन्ने कुरामा म सचेत थिएँ । त्यही हिसाबले पनि त्यसलाई सन्तुलन मिलाउने गरी राखिएको छ ।’

मन्त्री तामाङले अन्तर्राष्ट्रिय विमानस्थलहरूमा अन्तर्राष्ट्रिय हवाई कम्पनीहरूको सेवा बिस्तार गरी उडान संख्या वृद्धि गर्न अध्ययन भइरहेको बताए । उनले हवाई भाडालाई समसामयिक परिमार्जन गर्न तथा हवाई भाडामा समानता र एकरूपता कायम गर्नका लागि पनि अध्ययन भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *