मधेशमा खानेपानीको समस्या छ, सभामुखबाट रुलिङ होस् : कांग्रेस सांसद चौरसिया

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद अजयकुमार चौरसियाले मधेसमा खानेपानीलगायतका समस्या तत्काल समाधान गर्नका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सो माग गरेका हुन् । सांसद चौरसियाले आँधी, तुफान, हावाहुरी, असिनाका कारण पनि मधेशको जनजीवन कष्टकर हुँदा पनि सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाए । उनले भैँसीको अगाडि बिन बजाएजस्तो सरकारले नागरिकलाई पीडा हुँदा पनि ध्यान नदिएको गुनासो गरे ।

सांसद चौरसियाले भने ‘मधेशमा खानेपानीको समस्या भएको छ । मुहानहरू सुक्दै गएका छन । र पानीको लागि त्राहीमाम छ । हाहाकार छ । अर्कोतिर आँधी, तुफान, हावाहुरीको कारणले, असिनाको कारणले घर उठाएको छ । खेतीपाती नोक्सान भएको छ । बगैँचा नोक्सान भएको छ । र पटक पटक मैले यो पार्लियामेन्टमा यी कुराहरू उठाएको छु । तर सरकार कानमा तेल हालेर सुतेको छ । सम्माननीय सभामुखबाट रुलिङ होस । मधेशमा एउटा उखान छ–भैंसका आगे बिन बजाए । त्यस्तो नहोस् । र संसद सचिवालयका कर्मचारीहरूको जायज माग अविलम्ब पूरा गरियोस् ।’

सांसद चौरसियाले संसद सचिवालयका कर्मचारीको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 7 =