गृहमन्त्री विरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी पनि तोकियो

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ ।
न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।
सर्वोच्चले अर्को पेसी असार १६ गतेका लागि तोकेको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले रिट निवेदन दर्ता गरेका थिए ।
यो विवाद सर्वोच्च पुग्नुको कारण महान्यायाधीवक्ता कार्यालयले लेखेको पत्र थियो । महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान,अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि उक्त बदर हुनुपर्ने माग उठेको थियो ।
सोही माग बोकेर रिट निवेदन सर्वोच्च पुगेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुन दर्ता भएको थियो ।
दर्ता भएपछि सर्वोच्चले पोखरामा दर्ता भएको जाहेरी देखि रुपन्देही जिल्ला अदालतमा रहेको अभियोग पत्रसम्म मगाउने आदेश गरेको छ । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले गरेको अध्ययन प्रतिवेदन पनि पेस भएको छ । यी प्रमाणहरूको आधारमा दुवै पक्षको बहस सुनेर सर्वोच्चले निर्णय दिने छ ।
सर्वोच्चले रिट खारेज गरेमा गृहमन्त्री लामिछानेले तत्कालका लागि सफाइ पाउने छन् भने अन्तरिम आदेश जारी गरेमा उनको मन्त्री पद धरापमा पर्ने छ ।








