रास्वपा स्थापना दिवस

हामी उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट छौँ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरू पार्टी स्थापनाको उद्देश्यमा अडिग र गन्तव्यमा स्पष्ट रहेको बताएका छन् ।

पार्टी स्थापनाको दोस्रो वर्ष पूरा भएका अवसरमा आफ्ना सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले पार्टीको वैचारिक स्पष्टतासँगै राजनीतिक परिपक्वता हासिल गरेर पार्टी स्थापनाको उद्देश्य पूरा गर्न प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले पार्टी स्थापनाको दुई वर्षको यात्रा चुनौतीविहीन नभए पनि संसद् र सरकारमार्फत सबैको ध्यानतान्न सफल भएको बताए । ‘रास्वपा जन्मिएको दुई वर्ष भयो, हामी हाम्रो उद्देश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ । कुरा बाटोको हो, बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ । आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य, शुभचिन्तकको आशा र अपेक्षासहितका अग्लाअग्ला पहाड काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ । २१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, चार मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौँ’, सभापति लामिछानेले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

रास्वपाले स्थापना दिवसका अवसरमा आज पार्टीको केन्द्रीय कार्यालय वनस्थली चःमतिमा चियापानको आयोजना गरेको छ । चियापान कार्यक्रमअघि पार्टी केन्द्रीय समितिको बैठक बसेको थियो ।

बैठकमा सदन, सरकारको सङ्क्षिप्त समीक्षा र शुभकामना आदानप्रदान भएको पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने चियापान कार्यक्रममा विभिन्न दलका नेतासमेत सहभागी हुने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − five =