४ मन्त्रीले सिंगो देशको ध्यान तान्दैछौं: रवि लामिछाने  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ४ मन्त्रीले सिंगो देशको ध्यान तानेको बताएका छन् । पार्टी स्थापना दिवसको अवसरमा लामिछानेले सामाजिक सञ्जालमार्फत उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो बताएका हुन् ।

उनले आफूहरू आफ्नो यात्रामा अविचलित रहेको बताएका छन् । ‘सम्झनुस् त, देश तथा विदेशका टोल टोल बस्ती बस्तीका आम मान्छेको आवाज बोल्दा बोल्दै त्यो आवाजलाई ‘घण्टी’ मा रूपान्तरण गरेर २ वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ,’ उनले भनेका छन्, ‘२१ सांसदले एक वर्षमा सिङ्गो सदनको ध्यान तान्यौँ, ४ मन्त्रीले सिङ्गो देशको ध्यान तान्दैछौं ।’

कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन नसक्ने उनको भनाई छ । ‘रास्वपा जन्मिएको २ वर्ष भयो। हामी हाम्रो उद्देश्यमा अडिग छौँ, गन्तव्यमा स्पष्ट छौँ। कुरा बाटोको हो । बाटोमा त कहिले पहिरो जान्छ, कहिले ढुङ्गा खस्छ,’ मन्त्री लामिछानेले अगाडि भनेका छन्, ‘आम नागरिक एवं रास्वपा परिवारका तमाम सदस्य शुभचिन्तकहरूको आशा र अपेक्षा सहितका अग्ला अग्ला पहाडहरू काँधमा बोकेर हामी अहिले भिरको बाटोमा सिस्नु समाउँदै हिँडिरहेका छौँ। कयौँ कठिनाइहरूलाई नचिरी एउटा पार्टी स्थापित हुन सक्दैन ।’

उनले वैचारिक स्पष्टतासँग राजनीतिक परिपक्वता हासिल गर्दै अगाडि बढ्ने बताए । उनले भनेका छन्, ‘विश्वास गर्ने एक दुई जना मात्र हुँदा त हिँड्ने आँट गरियो भने आज त हामीसँग लाखौं लाख शुभेच्छुकहरू हुनुहुन्छ। २ वर्ष अघि हामीलाई विश्लेषण गर्न त परको कुरा, अस्तित्वमा समेत नरहने ठोकुवा गर्ने कयौँ विश्लेषकहरू आज रास्वपा खस्कँदो छ’ भन्ने विश्लेषण वाला आर्टिकलको ड्राफ्ट लेख्दै होलान्, कोही टक शो मा बोल्न घाँटी र टाइ मिलाउँदै होलान् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =