करदातालाई कर तिर्न प्रेरित गर्न मातहत निकायलाई मन्त्री पुनको निर्देशन

अर्थमन्त्री वर्षमान पुन अनन्तले करदातालाई कर तिर्न प्रेरित गर्नका लागि मातहत निकायलाई निर्देशन दिएका छन् । चालु आर्थिक वर्षको अन्तिम महिनामा राजश्व सङ्कलन बढाउने उद्देश्यले कर र राजश्व प्रशासनसँग सम्बन्धित सिनियर कर्मचारीहरूलाई बिहीबार मन्त्रालयमा बोलाएर उनले सामूहिक निर्देशन दिएका हुन् ।

‘करदातालाई अनुचित ढंगले दबाब दिने होइन उचित ढंगले कर तिर्न प्रेरित गरौँ’, उनले भने, ‘राज्य करदाताको अभिभावक पनि हो । ‘डिक्टेटर’ जस्तो व्यवहार नगरी सहजीकरण गर्नुपर्छ, सहकार्य गर्नुपर्छ ।’

मन्त्री पुनले असल नियतले काम गर्ने करदाताका जायज गुनासा सुन्न र कानुनले मिलेसम्म सम्बोधन गर्न पनि निर्देशन दिए । तर, अनुचित र गलत प्रवृत्तिको संरक्षण गर्न नसकिने उनले स्पष्ट गरे । खराब प्रवृत्तिसँग राज्यले राज्यकै रूपमा प्रस्तुत हुनुपर्नेमा सचेत उनले गराए ।  ‘कडाइ गर्नुपर्ने ठाउँमा कडाइ र खुकुलो गर्नुपर्नेमा खुकुलो गर्नुपर्छ’, उनले भने, ‘राम्रा करदातासँग असल र मैत्रीपूर्ण व्यवहार गर्नुहोस् । कर छल्ने गलत प्रवृत्तिसँग भने राज्यले राज्यकै रूपमा प्रस्तुत हुनुपर्छ ।’

मन्त्री पुनले लगानी गरेर असल नियतले नाफा कमाउन चाहने उद्योगी–व्यवसायीलाई सहजीकरण गर्नु राज्यको दायित्व भएकाले त्यसमा कुनै कमी नहुने बताए । राजनीति, प्रशासन र व्यवसाय सबैतिर स्वार्थ समूह रहेको चर्चा गर्दै उनले स्वार्थ समूहबाट अलग रहन कर्मचारीलाई आग्रह गरे । उनले आफूले अमुक व्यावसायिक घरानाको पक्ष वा विपक्षमा काम गर्न कहिल्यै संकेतसम्म नगरेको भन्दै सबैलाई काम गर्ने वातावरण दिएको उल्लेख गरे । तर, सेवा प्रवाहमा ढिलासुस्ती र अनावश्यक हैरानी दिने काम भए स्वीकार्य नहुने उनले स्पष्ट गरे । सेवा प्रवाह पारदर्शी, वैज्ञानिक र छिटोछरितो बनाउन उनको निर्देशन थियो ।

मन्त्री पुनले चालु आर्थिक वर्षको बजेटमा स्रोतको अनुमान वस्तुवादी नभएकाले राजश्व सङ्कलनको लक्ष्य भेटाउन कठिन रहेको औँल्याए । बजेटमार्फत निर्धारण गरिएका राजश्वसहित अन्य स्रोतहरूका अनुमान नमिल्दा नागरिकमा बजेटप्रतिको विश्वसनीयता नरहने अवस्था आएकाले यसपटक सच्याउन खोजिएको बताए ।

अर्थसचिव मधुकुमार मरासिनी र राजश्व सचिव डा। रामप्रसाद घिमिरेले चालु आर्थिक वर्षको अन्तिम महिना असारमा बक्यौता असुलीलाई तीव्रता दिन निर्देशन दिए । उनीहरुले चालु आर्थिक वर्षको राजश्व सङ्कलनको अन्तिम लक्ष्य भेट्न अधिकतम प्रयास गर्नुपर्ने बताए । गत वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार भएको अवस्थामा राजश्व सङ्कलन सन्तोषजनक हुन नसक्नुको कारणबारे समीक्षा हुने सचिवद्वयको भनाइ थियो ।

कार्यक्रममा आन्तरिक राजश्व विभागका प्रमुख शिवलाल तिवारी र भन्सार विभाग प्रमुख ढुण्डीप्रसाद निरौलाले राजश्व सङ्कलनको अवस्था, चुनौती र सम्भावनाबारे प्रस्तुति राखेका थिए । छलफलमा मन्त्रालयका विभागीय प्रमुखहरू दुवै विभागका महानिर्देशक, उपमहानिर्देशक र निर्देशकहरु, काठमाडौँस्थित कार्यालय प्रमुखहरू, कर र राजश्व प्रशासनका अधिकृतहरु उपस्थित थिए । उपत्यकाबाहिरका कार्यालय प्रमुखहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *