‘अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालन हुन्छन्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनको उपयुक्त विधि तय भएपछि मात्रै सञ्चालनमा आउने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनका लागि सुझाव पेस गर्न समिति गठन भएको र समितिको प्रतिवेदनमा आएको सिफारिस अनुसार सञ्चालन गरिने बताए । उनले सार्वजनिक, निजी साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरी कार्यान्वयनमा ल्याइने बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा आफूले सम्बन्धित मन्त्रालयसँग छलफल गरिरहेको पनि उनले जानकारी दिए ।

उनले भने – ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दिगो सञ्चालनका सम्बन्धमा सरोकारवालाहरूसँग छलफल र समन्वय गरी तदारुकताका साथ कार्य भइरहेको छ । अन्य देशका अन्तर्राष्ट्रिय वायुसेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका साथै अन्य विषयमा पनि चासो व्यक्त गरेकाले ती विषयहरूमा छलफल र समन्वय भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगायत तिनवटै अन्तर्राष्ट्रिय विमानस्थलहरू दिगो रुपमा सञ्चालन गर्न सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न कार्यसमिति गठन भएको र समितिले प्रतिवेदन तथा सिफारिस प्राप्त भएपछि अन्तर्राष्ट्रिय विमानस्थलहरू सार्वजनिक, निजी साझेदारी वा सञ्चालनको अन्य उपयुक्त विधि तय गरि कार्यान्वयनमा ल्याइने छ । आज बिहान मात्रै मैले सम्बन्धित मन्त्रालयसँग पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको बारेमा अन्तर्राष्ट्रिय समन्वयको बारेमा छलफल गरेको छु । केही सकारात्मक र उत्साहवद्र्धक प्रगति भइरहेको जानकारी गराउन चाहन्छु ।

उनले अन्तर्राष्ट्रिय वायु सेवाहरूले पोखरा विमानस्थलबाट सेवा सञ्चालन गर्नको लागि विभिन्न छुट तथा सहुलियतका विषयमा चासो व्यक्त गरेका र उनीहरूसँग पनि छलफल भइरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =