प्रधानमन्त्रीलाई खेलकुद क्षेत्रको विकासमा गम्भीर बन्न सांसद चौधरीको आग्रह

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई खेलकुद क्षेत्रको विकासमा गम्भीर बन्न आग्रह गरेका छन् ।
उनले सरकारले खेलकुद क्षेत्रका लागि आगामी आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा कम बजेट विनियोजन गरेको उल्लेख गर्दै त्यसको विकासमा ध्यान दिन प्रधानमन्त्री दाहाल र अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका हुन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै प्रमुख सचेतक चौधरीले सरकारले खेलकुद क्षेत्र र युवा समुदायलाई उपेक्षित गरेको भन्दै आपत्ति जनाए । उनले खेलकुद मन्त्रालयको महत्व बुझ्ने विषयमा पनि ख्याल गर्न सरकारलाई सचेत गराए । प्रमुख सचेतक चौधरीले राष्ट्रिय खेलाडीहरूलाई नियमित पारिश्रमिकको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।
उनले भने ‘युवा तथा खेलकुद मन्त्रालयलाई सरकारले हाई प्रायोरिटीमा राख्नुपर्ने हो । तर राख्न सकेनौँ । आज हामी युवा तथा खेलकुद क्षेत्रलाई उपेक्षित क्षेत्र, सबैभन्दा काम नलाग्ने मानिसहरूले खेल्ने खेल्ने क्षेत्रको रुपमा बुझिरहेका छौं । त्यसैले सरकारले सबैभन्दा कम बजेट यसमा एलोकेट गरेको छ । त्यसैले यो मन्त्रालयलाई बुझ्ने विषयमा अलि सिरिएस बन्नुपर्छ प्रधानमन्त्री, अर्थमन्त्रीले । अहिलेको खेलकुद मन्त्रीले ध्यान दिन नसकेपनि यो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले बेस्सरी ध्यान दिनुपर्ने हो । यसका लागि राष्ट्रिय खेलाडीहरूको आईडेन्टीफाई गर्ने र उनीहरूका लागि रेगुलर पारिश्रमिकको व्यवस्था गर्ने, प्रोत्साहित गर्ने योजनाबद्ध रुपमा खेलाडीहरू उत्पादन गर्ने कुरामा प्लान हाम्रो हुनुपर्छ । र यो क्षेत्रलाई हामीले प्रोफेसनल बनाउन सक्नुपर्छ ।’
प्रमुख सचेतक चौधरीले खेलाडी उत्पादन गर्ने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।








