सरकारले दुग्ध किसानहरूको रकम तत्काल भुक्तानी गर्नुपर्छ : महेश बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले दुग्ध किसानहरूको भुक्तानी तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दुग्ध किसानहरूले पाउने भुक्तानी सरकारले तत्काल उपलब्ध गराउनुपर्ने बताएका हुन् । उनले संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गरिरहेका किसानहरूमाथि प्रहरीले हस्तक्षेप गर्नु उचित नभएको बताए । उनले किसानहरूको जायज मागलाई अविलम्ब सम्बोधन गरी दूधको रकम भुक्तानी गर्न सरकारले ढिलाइ गर्न नहुने बताए । उनले दूध किसानहरूले दूध बेचेको पैसा सरकारबाट २ अर्ब र निजी डेरीबाट करिब ३ अर्ब रहेको भन्दै उक्त रकम तत्काल उपलब्ध हुनुपर्ने बताए ।
उनले भने ‘संविधान बमोजिम शान्तिपूर्ण ढंगबाट आफ्ना मागहरू लिएर आन्दोलन गर्न पाउने त्यो नागरिकहरूको अधिकार हो । संवैधानिक हकको अधिकार हो । यो देशका झन्डै ६ लाख भन्दा बढी किसानले विशेष गरी दूध किसानहरूले आफूले बेचेको दूधको रकम भुक्तानी पाउँ भनेर आजदेखि काठमाडौंमा आन्दोलन सुरु गर्नुभएको छ । आज बिहानदेखि उहाँहरुले आन्दोलनका कार्यक्रम अघि बढाउनु भयो । यो आन्दोलनका कार्यक्रम उहाँहरुले अपर्झट कसैलाई थाहा नदिई गरेको होइन । प्रशासनलाई, गृह प्रशासनलाई जानकारी दिएर सूचना गरेर यो ठाउँमा कार्यक्रम गर्छु भनेर अनुमति लिएर उहाँहरुले धर्ना गर्दै हुनुहुन्थ्यो ।
दूध किसानहरूले काठमाडौंको दुग्ध विकास संस्थान लैनचौरको परिसरमा धर्ना बस्दै हुनुहुन्थ्यो । प्रहरीहरूको धरपकड भयो, प्रहरीले ४५ भन्दा बढी किसानहरूलाई गिरफ्तार गर्यो । उहाँहरूमाथि मर्यादित व्यवहार भएन भन्ने छ । किसानहरूको जायज माग छ । उहाँहरूको न्यायोचित विषय छ । उहाँहरुले दूध बेच्नुभयो । सरकारलाई बेच्नुभयो, निजी व्यक्तिहरूलाई बेच्नुभयो । दूध बेचेको रकम लिन आन्दोलन गर्नुपर्ने परिस्थितिमा किसानहरू पुगे । सरकारबाट झन्डै २ अर्ब किसानहरूले रकम प्राप्त गर्नुपर्नेछ । निजीबाट झन्डै ३ अर्ब छ । ६ लाख किसानहरूको दूधको रकम झन्डै ६ अर्ब राज्यबाट वा निजी डेरीबाट प्राप्त गर्नुपर्नेछ । उहाँहरू भुक्तानी नपाउँदा पीडित हुनुहुन्छ । दूधको भुक्तानी बक्यौता अविलम्ब प्राप्त गराइयोस् । भुक्तानी गरियोस् ।’
उनले सरकारलाई वार्ताको माध्यमबाट भुक्तानीको सुनिश्चितता गर्न आग्रह गरे ।








