संसद सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न एमालेको ध्यानाकर्षण (भिडिओ)

काठमाडौं । नेकपा(एमाले)का सांसद रघुजी पन्तले संघीय संसद सचिवालयका कर्मचारीलाई अतिरिक्त समय काम गरेको भत्ता दिलाउन सरकारलाई आग्रह गरेका छन् ।

मङ्गलवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद पन्तले संघीय संसद सचिवालयका कर्मचारीहरुलाई अतिरिक्त समय काम गरेको भत्ता उपलब्ध गराउन सरकारसँग आग्रह गरे ।

उनले अन्य कर्मचारीहरुले नियमानुसारको अतिरिक्त समय काम गरेको भत्ता पाइरहेको भएपनि संसदका कर्मचारीहरुले नपाएको भन्दै संसदका कर्मचारीहरुमाथि अन्याय भएको बताए ।

‘जुन सुविधा अरु कर्मचारीले पाएका छैनन् । त्यो सुविधा संसदको कर्मचारीहरुले पनि पाउनुपर्छ भन्ने मेरो भनाई पनि छैन । तर जे सुविधा अरु मन्त्रालयका कर्मचारीहरुले पाएका छन्, त्यो सुविधा संसद सचिवालयका कर्मचारीहरुले नपाउने कुरा चाहीँ हुँदैन’ उनले भने,‘उहाँहरुले कोभिड यता उहाँहरुले ओभरटाइम गरेको कुनैपनि भत्ता पाउनुभएको छैन । हिजोको मागिराख्नु भएको छैन । नियम, कानुन अनुसारको भत्ता अहिले पनि नपाउने भन्नेकुरा त अन्याय भयो नि । त्यो अर्थ मन्त्रालयका कर्मचारीले पाउने । अन्तका कर्मचारीले पाउने । संसदका कर्मचारीले चाहीँ किन नपाउने ? आज यहाँ देखिरहेका छौँ, सभामुखज्यूलाई सहयोग गर्न बस्नुपर्ने कर्मचारीहरु सबै हुनुहुन्न । वहाँ बाहिर धर्नामा हुनुहुन्छ । संसदभित्र यो दृश्य उपस्थित हुनु आफैँमा दुःखद् हो कि होइन ।’

उनले संसदमा सांसदहरुका लागि पढ्न राखिने अखबारहरुमा समेत कटौती भएको भन्दै मुलुकको आर्थिक अवस्था सांसदहरुको अखबारमा कटौती गर्नुपर्ने अवस्थामा पुगेको हो भनि प्रश्न समेत गरे ।

सांसद पन्तले संसदलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री जन्माउने संसदका कर्मचारीहरुको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

‘६, ७ महिना अगाडी जति अखबार सांसदहरुलाई पढ्न भनेर त्यहाँ राखिन्थ्यो, महत्वपूर्ण कतिपय अखबारहरु कटौती भएको छ,’ उनले भने, ‘के हाम्रो मुलुकको आर्थिक अवस्था त्यति कमजोर भएको हो ? सांसदहरुलाई दिइने पत्रिका पनि कटौती गर्ने अवस्थामा पुगेको हो र ? म सरकारलाई आग्रह गर्छु, नियमले दिने सुविधाहरु, भत्ताहरु अहिले कटौती गर्नु भएन । उनीहरुलाई अब त दिन थालियोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =