शैक्षिक गुणस्तर वृद्धि गरेर युवालाई स्वदेशमै अवसर दिँदै छौं : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र भविष्य देख्ने वातावरण सिर्जना गर्न शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्नुपर्ने बताए ।
‘देशभित्रै भविष्य देख्ने सकारात्मक सोचका साथ मातृभूमिको माया सम्झेर आर्जित ज्ञान र सीप दिगो विकासका लागि सदुपयोग गर्नुहोस्,’ प्रधानमन्त्री दाहालले भने, ‘देशभित्र भविष्य देख्ने वातावरणका निम्ति शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धिमा विशेष जोड दिनुपर्छ ।’
उनले कृषि विज्ञानमा भर्ना हुने र भेटरेनरीमा आवेदन दिने विद्यार्थीको सङ्ख्या बढिरहेको तथा भेटरेनरी विषयमा विद्यार्थी सङख्या शतप्रतिशत बढाउने पहल भइरहेको जानकारी पाउँदा खुसी लागेको बताए ।
प्राविधिक विश्वविद्यालयहरूले अनुसन्धानमार्फत नवीनतम प्रविधिको विकास गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यमा सम्पूर्ण क्षमता र साधन स्रोत खर्चिनुपर्नेमा जोड दिए । उनले विश्वविद्यालयका वैज्ञानिकहरूले भैँसीको बेमौसमी प्रजननको प्रविधि, गर्मी सहन गर्न सक्ने गहुँको जातको विकासलगायतका प्रविधि विकास गरेकोप्रति खुसी व्यक्त गरे ।
विश्वविद्यालयले आवश्यकताअनुसार क्याम्पस तथा कृषि विज्ञान केन्द्र विस्तार र सवलीकरणका लागि योजना निर्माण गरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा विश्वविद्यालयका निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए ।
‘विश्वविद्यालयले सङ्काय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला निर्माण गरिरहेकोमा निर्माण छिटो सम्पन्न गर्नुपर्छ,’ प्रधानमन्त्री दाहालले भने, ‘विश्वविद्यालयका शैक्षिक एवं अनुसन्धान र प्रसार कार्यलाई गुणस्तरयुक्त तथा समयसापेक्ष बनाउन दश वर्षे रणनीतिक योजना निर्माण एवं पाठ्यक्रम परिमार्जन गरी कार्यान्वयन गर्नुपर्छ ।’
प्रधानमन्त्री दाहालले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्नुपर्नेमा जोड दिँदै कर्ममा समर्पित हुन आग्रह गरे । दाहालले व्यक्तिगत स्वार्थ र निजी भविष्यका लागि मात्र नभई देशको भविष्यमा ध्यान दिन अपिल गरे ।
‘राज्य, राजनीतिक दल र आम जनसमुदायबीच सहकार्य र एकता कायम हुँदा हामीले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सक्छौँ र बदल्नै पर्दछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तसर्थ, म सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा विशेष अपिल गर्छु, राष्ट्रिय शब्दमा होइन, कर्ममा व्यक्त हुनुपर्दछ । हाम्रा गतिविधि व्यक्तिगत स्वार्थ र निजी भविष्यका निम्ति मात्र होइन, सिङ्गो देशको प्रतिष्ठा र भविष्यका निम्ति समर्पित हुनुपर्दछ ।’
उत्पादन, उत्पादकत्व वृद्धि र देशभित्रै रोजगारीका नयाँ–नयाँ अवसरको सिर्जना गर्न सरकार निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषि, सूचना–प्रविधिको क्षेत्रलाई सर्वाधिक महत्त्व दिएको स्पष्ट पारे ।
नेपालजस्तो देशका निम्ति अर्थतन्त्रको प्रमुख आधार कृषि क्षेत्र र नेतृत्वदायी क्षेत्र सूचना–प्रविधि हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यसवर्ष उत्पादकत्व वृद्धि र रोजगार प्रवर्द्धन गर्ने कार्यक्रमको साथमा सूचना–प्रविधिमा नवप्रवर्तन कार्यक्रमका निम्ति पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए ।
सूचना प्रविधिको युग हुनुका कारण विश्वका अवसर र चुनौतीबारे जान्ने, बुझ्ने र सोहीअनुरूप आफ्नो भविष्यको योजना निर्माण हुनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रियता, भावी पुस्ताको भविष्य र मातृभूमिको हितबारे सोच्नैपर्ने भने । समारोहमा उनले आफूले यही पढेको भन्दै स्मरण गरे ।
समारोहमा प्रमुख अतिथिको रूपमा आएका सिक्किम स्किल युनिभर्सिटीका उपकुलपति प्रा डा अजयकुमार मिश्रले कृषि विश्वविद्यालयले शैक्षिक गुणस्तरमा पु¥याएको योगदानको चर्चा गरे । आफ्नो विश्वविद्यालय र यस विश्वविद्यालयको बिचमा सहकार्य गरेर जान सकिने उनको भनाइ थियो ।
कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्रा डा पुण्यराज रेग्मीले कृषि तथा वन विज्ञान विश्वविद्यालयले वार्षिकोत्सवको अवसर पारेर गरिएको दीक्षान्त समारोह अबदेखि नियमित हुने बताए । उनी उपकुलपति नियुक्त हुनु भएपछि यो तेस्रो दीक्षान्त समारोह गरिएको हो ।
दीक्षान्त समारोहमा स्नातक, स्नातकोत्तर र विद्यावारीधि गरी एक हजार ५९ विद्यार्थी दीक्षित भएका छन् ।








