पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार पुरस्कार प्रदान

काठमाडौं । अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

आईतवार काठमाडौंमा एक कार्यक्रमबीच अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

१९ औं एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङ, १९ औं एशियाली खेलकुदमा काँस्य विजेता राष्ट्रिय महिला कबड्डी टिम, चौथो एशियाली पारा खेलकुदमा काँस्य विजेता पलेशा गोवर्धन र आइसीसी मेन्स टि ट्वान्टी वल्र्ड कप फाइनल एशियामा रजत विजेता राष्ट्रिय क्रिकेट टिमलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

सरकारको तर्फबाट खेलाडीहरुलाई २ करोड ९७ लाख १० हजार रकम बराबरको सम्मान र पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले अहिले मन्त्रालयमा नियमित काम शुरु भएको बताए ।

उनले नेपालमा खेलाडीहरुको जस्तै अनुशासित राजनीतिको आवश्यकता रहेको बताए । उनले खेलाडी, खेलप्रेमी, प्रशंसकहरुबाट सिकेको सुसंस्कृत कुराहरु राजनीतिमा समावेश गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ(क्यान) का सचिव पारस खड्काले राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट विश्वकप खेल्दा नेपाली क्रिकेट टिमलाई गरेको मायाले ठूलो हौसला मिलेको बताए । उनले क्रिकेटमा भविष्य सुरक्षित छ भन्नेकुरा प्रमाणित भएको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरुको पुरस्कार राशी प्राप्त हुनेले खेलाडीहरुमा ठूलो हौसला मिल्ने बताए । उनले काम गर्ने हुटहुटी एउटा नेतृत्वले राख्यो भने सकिन्छ भन्नेकुरा मन्त्री श्रेष्ठबाट पूरा भएको बताए ।

उनले परिषद्को बैठकले निर्णय गरेर फाइल पठाउने मात्रै काम हुने भन्दै सबै बाँकी काम मन्त्रालयबाट नै पूरा हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *