संसदीय छानबिन विशेष समितिको ‘कार्यविधि’ तयार

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिको कार्यविधि तयार भएको छ ।

विशेष समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले कार्यादेश निर्माणका लागि गठित समितिका सदस्यहरूसँग समेत छलफल गरी सो कार्यविधि तयार पारेको हो । सहकारी छानबिन सम्बन्धी कार्यादेश निर्माणमा संलग्न सांसदहरू महेश बर्तौला, हितराज पाण्डे, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियारसँग पनि आवश्यक छलफल गरी बैठकले आफ्नो कार्यविधि पारित गरेको विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी बैठकले आफ्नो कामलाई अघि बढाउनका लागि कार्यसूचीहरू पनि तय गरेको छ । संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिसहितका निकायहरूसँग छलफल गर्ने र आजको सहकारीको समस्याको बारेमा, बचत अपचलन, दुरुपयोगको बारेमा र समग्र अवस्थितिको बारेमा जानकारी लिने र त्यस आधारमा अरु सूचना, तथ्यहरू लिने कामहरु पनि गर्ने गरी कार्यसूची पनि बैठकले तय गरेको विशेष समितिले जनाएको छ ।

सभापति थापाले भने ‘छलफल गरेर आज समितिको कार्यविधि सर्वसम्मतिले पारित भएको छ । हामीले मस्यौदा कार्यविधिमा छलफल गरेर त्यसलाई प्राप्त विभिन्न खालको सुझावलाई समेटनेगरी पारित गरेका छौं । र हामीले विभिन्न छानबिन समिति, जाँचबुझ आयोगलगायतले विगतमा अध्ययन गरेका प्रतिवेदनहरू उपलब्ध गराउन सम्बन्धित निकायलाई दोस्रो बैठकबाटै पत्राचार गरेका थियौँ । त्यसमध्ये धेरै अधिक संख्याका प्रतिवेदनहरू प्राप्त भएका छन । र सबै प्राप्त गरिसक्ने गरी पनि समितिलाई समन्वय गर्न निर्देशन दिएका छौं ।

र कार्यविधि जुन सुझावसहित पारित भएको छ । त्यसलाई अन्तिम रूप दिने र त्यसलाई प्रमाणीकरण गर्ने कार्यसँगै अव समितिले अब औपचारिक रुपमा काम अघि बढाउने सबै तयारी आधार प्राप्त भएको छ । ’

विशेष समितिको कार्यविधिमा प्रादेशिक सहकारीसँग सम्बन्धित निकायहरु र सम्बन्धित स्थानीय तहबाट पनि समस्याग्रस्त सहकारीहरूको तथ्यहरू संकलन गर्ने, जानकारीहरू लिने पनि उल्लेख गरिएको छ । विगतका सहकारी सम्बन्धी प्रतिवेदनहरू विशेष समितिमा अधिकांश आइसकेको र आउन बाँकी पनि छिटो उपलब्ध गराउन सम्बन्धित पक्षलाई सचेत पनि गराइएकोको विशेष समितिका सभापति थापाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *