विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले विकासका काममा आवश्यक ध्यान दिन नसकेको बताएका छन् ।
शनिवार संसद भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको बताए ।
एक/दुई जनाको मुख हेरेर सरकारमा छँदै छौं भनेर नहुने उनको भनाइ थियो । उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजन कस्तो छ भन्नेकुराको समीक्षा गर्न जरुरी रहेको बताए ।
‘बजेटको सन्दर्भमा भएको कति ठिक, कति बेठिक त्यो अलि छलफल गर्नुपर्ने हुन्छ । एक दुई जनाको मुख हेरेर हामी सरकारमा छौं भनेर गरिबीतिर गएपनि के भयो र ? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ’उनले भने,‘हामी सरकारमा किन भएको भन्दा देशलाई गरिबीतिर जानबाट रोकेर विकासतर्फ अगाडि बढाउनका लागि सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने । हामीले नै चलाइरहेका मन्त्रालयहरुको कस्तो छ स्थिति ? त्यसमा कस्तो छ त्यसको विनियोजन ? त्यो पनि हेर्नुपर्ने हुन्छ । यि सबै विषयमा साथीहरुले खुलेर छलफल गर्नुस् ।’
उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे । उनले ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्यानउ सकिने बताए ।
उनले नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरु जसरी विचार, नीति, उद्देश्य शुन्य, स्वार्थका थैलाहरु बोकेर हिँड्ने पार्टी नभएको बताए । उनले स्वार्थका थैलाहरु भर्नका लागि अशिष्टता, असभ्यता, अमर्यदा, अलोकतान्त्रिक तरिकाहरु अवलम्वन गर्ने काममा एमाले नलाग्ने बताए ।
उनले प्रतिक्रियावादीहरुले नेकपा एमालेबिरुद्ध दिनदिनै नयाँनयाँ अकल्पनिय कुराहरु आविष्कार गरी समाजमा भ्रम पैदा गरिरहेको बताए ।
‘बाहिर बजारमा फिँजाउने कुरा होइन । बाहिर बजारमा भन्दै हिँड्ने त्यसले कुनै फेसबुकले कुनै कुरालाई सच्याएर ल्याइदिँदैन । त्यो ठिक ठाउँको छलफल, ठिक ठाउँको सुझाव, ठिक ठाउँका निर्णयबाट मात्रै स्थितिमा परिवर्तन आउँछ’ उनले भने,‘फेरि हामीले खण्डन मण्डन त गर्नुपर्ने हुन्छ । हाम्रो पार्टीका बिरुद्ध उनीहरुको हमला अत्यन्त तिब्र छ । नयाँ कुरा दिनैपिच्छे अकल्पनिय कुराहरु उनीहरुले आविष्कार गरेर बजारमा फैल्याउँछन् ।’
अध्यक्ष ओलीले नेकपा एमालेका बिरोधी प्रतिक्रियावादीहरुले देश अगाडि नबढोस् भन्ने चाहने गरेको बताए । उनले नेकपा एमाले देश बाउने संकल्प, दृढता र अठोटमा रहेको बताए ।








