प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैन : गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफू प्रधानमन्त्री हुनुको कारण नै थाहा नभएको बताएका छन् ।
शनिवार नेपाली काँग्रेस नागार्जुन नगर कार्यसमितिले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री दाहाललाई आफू प्रधानमन्त्री किन भएको हो भन्ने नै थाहा नभएको बताएका हुन् ।
प्रधानमन्त्री के का लागि भएको र प्रधानमन्त्री भएर के गर्ने भन्ने पनि प्रधानमन्त्रीलाई थाहा नभएको उनको भनाई छ ।
‘सरकार मुलत्ः एमाले र माओवादी पार्टीहरुको सरकार छ । माओवादीको प्रमुख जो प्रधानमन्त्री हुनुहुन्छ, उहाँलाई प्रधानमन्त्री भएर के गर्ने भन्ने कुराको कुनै मेसो पनि छैन । किन प्रधानमन्त्री हुनुभएको भन्ने थाहा पनि छैन’ उनले भने,‘के को लागि हुनुभएको हो ? के गर्ने हो ? उहाँ प्रधानमन्त्री नभए के हुन्छ अहिले ? केही पनि छैन । खेलोफड्को गर्ने, प्रधानमन्त्री यता आएपनि बन्ने । उता आएपनि बन्ने । बनिराख्ने भन्ने छ । त्यसैले अबको यो दिनमा हाम्रो अर्थतन्त्र बिगँ्रदै जाँदा अहिलेको प्रधानमन्त्रीले त्यसको बारेमा जिम्मा लिएर जवाफ दिनुहुन्छ भन्ने मलाई पटक्कै लाग्दैन ।’
उहाँले देशको राष्ट्रिय अर्थतन्त्रको अवस्था बेहाल भएको भन्दै अर्थतन्त्र बिग्रनुको जिम्मेवारी प्रधानमन्त्रीले नलिएको बताए ।
विगतको सरकारको अर्थतन्त्र पनि राम्रो नभएको भन्दै उनले त्यतिबेला पनि प्रधानमन्त्रीले काँग्रेसलाई दोष लगाएको बताए । उनले प्रधानमन्त्री दाहालले जसरीपनि प्रधानमन्त्री मात्रै बन्ने खेलोफड्को गरिरहेको बताए ।
‘अर्थतन्त्रको बेहाल भएपछि बर्बाद भयो । सकियो । खत्तम भयो । नेता चोर । पार्टी चोर भयो । भोलिपनि बन्दैन । पर्सि पनि बन्दैन भन्ने कुरा के ले लिएर आउँछ भने अर्थतन्त्रको हिसावकिताव बिग्रँदै गर्दा त्यसले राजनीतिलाई भारी बोकाउँछ र आगामी दिनमा यो थप बढ्दै जानेवाला छ । हामी प्रतिपक्षमा छौँ’ उनले भने, ‘उहाँले जिम्मा लगाइदिनु भयो, काँग्रेसको मानिसहरु थिए, मैले काम गर्न सकिन भनेर प्रधानमन्त्रीले पन्छाइदिएर निस्कनुभयो । त्यसैले उहाँले जिम्मा लिनुहुन्छ भन्ने पटक्कै छैन ।’
महामन्त्री थापाले एमालेले बजेटको स्वामित्व नलिएको बताए । उनले एमालेले आगामी दिनमा सरकारमा बसिरहने तर आफ्नो सरकार हो भनेर नागरिकको तहमा जिम्मेवारी नलिने गरी अगाडी बढेको बताए ।
महामन्त्री थापाले नयाँ राजनीतिक दलहरुले लोकरिझ्याँइ बाहेक केही नगर्ने पनि बताए । उनले नयाँ राजनीतिक दलका मन्त्रीहरु जिम्मेवारी अनुसारको काम नगरी समाजिक सञ्जालमा लाइक बढाउने काममा मात्रै लागेको बताए ।
उनीहरुले समस्याको समाधान गर्ने भन्दापनि चटक गरिरहेका बताए ।
‘नेकपा(एमाले) त सरकारमा छ, छैन ? सरकारमा छ पनि । छैन पनि । सरकारमा उसले जुनियर मन्त्रीहरु पठाएको छ । हेर्दाखेरी मात्रै जुनियर मन्त्रीहरु पठाएको होइन । किन पठाएको हो भने सरकारमा आफू बस्नेपनि । तर नागरिकको बीचमा गएर यो सरकार मेरो हो भनेर जिम्मा नलिने । हेर्नुस् त बजेटमा कसरी पन्छिएको । सरकार आफ्नो छ । यो बजेट माओवादीको जस्तो देखियो’ उनले भने,‘यो बजेटमा रातोरातो देखियो भनेर सर्लक्क पन्छिएको छ । बजेटले काम गरेन भनेर भन्यो भने प्रधानमन्त्री बजेटको जिम्मा लिनुहुन्न । एमालेले मेरो बजेट नै हो भन्दैन । त्यसैले अबको दुई, तीन वर्षको राजनीतिमा नेकपा(एमाले) सरकारमा रहिरहन चाहान्छ ।’








