बृहत्तर जनकपुर क्षेत्र अतिक्रमणबारे बिग अपरेसन गर्दैछौँ : गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । सो क्षेत्रको करिब नौ हजार बिगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेसन गरिरहेको उपप्रधानमन्त्री लामिछानेको भनाई थियो । उनले सो विषयमा सञ्चार माध्यमलाई आफूले चाँडै विस्तृत जानकारी गराउने पनि बताए । उपप्रधानमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको पनि बताए ।

उनले भने ‘बृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषय आएको छ । तपाईँहरूले चाँडै थाहा पाउनु हुन्छ । आज नै यसलाई सार्वजनिक गरिदिँदा पनि केही फरक पर्दैन । यो चाहिँ लगभग नौ हजार बिगाहा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले विग अपरेसन गर्दैछ । यो जानकारी पनि तपाईँहरूलाई जानकारी गराउँछु । हामी काम गर्दैछौं, हुँदैछ । कुनै एउटा त्यस्तो केस छैन, जसलाई हामीले गर्नु नपरोस् । ’

उपप्रधानमन्त्री लामिछानेले सरकारले जुनसुकै केशलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *