सरकारले पर्यटनसम्बन्धी ऐन संशोधन गर्नुपर्छ : सुनिता बराल

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सचेतक सुनिता बरालले पर्यटनसम्बन्धी ऐनलाई तत्काल संशोधन गर्नसरकारसँग माग गरेकी छन् ।

पर्यटन क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन पनि सरकारले सो सम्बन्धी ऐनलाई ढिला नगरी समयसापेक्ष बनाउन आवश्यक रहेको उनको तर्क थियो । शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन् ।

सचेतक बरालले पर्यटनसम्बन्धी ऐनलाई समयसापेक्ष बनाउन नसक्दा अपेक्षित कामहरु केही पनि गर्न नसकेको यथार्थलाई आत्मासात गरेर सरकारले सो ऐनलाई समय सापेक्ष बनाउनुपर्ने बताइन् ।

उनले सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा विमानस्थल सञ्चालनका लागि बजेटको व्यवस्था नगरेर पर्यटन क्षेत्रप्रति जिम्मेवारी नभएको कुरालाई देखाएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । सचेतक बरालले पर्यटनमार्फत मुलुकको समृद्धको सम्भावना अधिक रहेपनि त्यस क्षेत्रको काममा दक्षता अभिवृद्धिका लागि स्थापित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको कामलाई सरकारले प्रभावकारी बनाउन नसकेको गुनासो पनि गरिन् ।

उनले भनिन् ‘ म एउटा पर्यटन समितिलाई पनि प्रतिनिधित्व गर्ने भएकाले सरकारलाई फेरि पनि आग्रह गर्न चाहन्छु पर्यटन ऐन ढिला नगरी ल्याएर यो देशको समृद्धिका सम्भावनाहरूलाई थप परिस्थिकृत पार्नका लागि विशेष ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, जुन पर्यटन क्षेत्रमा तालिम प्राप्त दक्ष उत्पादन गर्नका लागि एउटा स्थापित संस्था थियो । आज त्यो बिस्तार हुनुपर्ने, अझ फराकिलो हुनुपर्ने ठाउँमा त्यसले के गरिरहेको छ भन्ने थाहा खबर नहुने अवस्थामा छ । आज हामीले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छौ भनेर नीतिगत रुपमा हाम्रा भाषणमा भनिराख्दा खेरी यस्ता खालको संस्थाहरूलाई ओझेलमापर्दा हामी गन्तव्यमा कसरी पुग्छौ ? यो पनि सोच्नुपर्ने हुन्छ । सरकारको नीति, कार्यक्रम बजेटमा पोखरा र भैरहवा विमानस्थललाई कहीँ पनि उल्लेख नहुनुले हामी पर्यटन क्षेत्रप्रति कति संवेदनशील र सचेत छौं ? प्रष्ट देखाएको छ ।’

सचेतक बरालले पर्यटन क्षेत्रलाई मुलुकको समृद्धिको लागि प्राथमिकतामा राख्छौँ भनेर नीतिगत रुपमा भनेपनि सो अनुसारको काम गर्न नसकेको गुनासो गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =