चुरे दिनप्रतिदिन मासिँदै छ, सरकारले ध्यान दिनुपर्छ : कांग्रेस सांसद चौधरी

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तेजुलाल चौधरीले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेकी छन् ।
शुक्रवार प्रतिनिधि सभा बैठकमा शुक्रवार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएकी हुन् ।
सांसद चौधरीले चुरे क्षेत्रको वन मासिँदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको उचित संरक्षणमा ध्यान पुर्याउन पनि सरकारलाई दबाब दिइन् । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेसको ठूलो र उत्कृष्ट कार्यक्रम भएपनि त्यो विगत ५/७ वर्षदेखि राम्रो हुन नसकेको सांसद चौधरीको भनाई थियो । उनले तराई÷मधेसको भारतसँगको सीमा क्षेत्रमा एनटिसीको मोबाइल सेवा टिप्न नसकेको गुनासो गर्दै त्यसको उचित व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद चौधरीले भनिन् ‘चुरे अहिले दिनप्रतिदिन मासिँदै गएको छ । त्यसकारण यसमापनि सरकारले ध्यान दिनुपर्छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रम तराई मधेसको ठूलो कार्यक्रम र निकै नै उत्कृष्ट कार्यक्रम थियो । तर यो ५/७ वर्षदेखि त्यो कार्यक्रम दिनप्रतिदिन राम्रो भइराखेको छैन । यतातिर म वनमन्त्रीजीलाई आग्रह गर्न चाहन्छु । तराई मधेसको बोर्डर एरियामा टेलिफोन लागिराखेको छैन । एनसेलको पकड बढी देखिन्छ । एनटिसीको पकड कम छ । त्यतातिर पनि ध्यान दिन आग्रह गर्दछु ।’
सांसद चौधरीले एनसिटी मोबाइल सेवा सहज ढंगले सञ्चालन हुने वातावरण बनाउने काममा सरकारले ढिलाइ गर्न नहुने पनि बताइन् ।








