तत्काल मनसुनी वर्षा नहुने, तराईमा ‘तातो लहर’को चेतावनी

काठमाडौं । मौसम पूर्मानुमान महाशाखाले आगामी तीन दिन देशका केही भूभागमा तातो हावा र तातो लहरको सम्भावना रहेको जनाएको छ । बिहीबार साँझ विशेष बुलेटिनमार्फत महाशाखाले देशको मध्य तथा पश्चिम तराईका भू–भागमा आगामी तीन दिन (जेठ ३२ गतेदेखि असार २ गते)सम्म अत्यधिक गर्मीको सम्भावना रहेको जनाएको हो ।

महाशाखाका अनुसार कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ गरी पाँच जिल्लामा अत्यधिक गर्मीको सम्भावना छ । महाशाखाले तातो लहरको असरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुन सक्ने महाशाखाले जनाएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी नहिँड्ने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटकपटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउन आग्रह गरेकव छ ।

महाशाखाले स्वास्थ्यमा समस्या देखिए स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहेर थप सल्लाह लिनसमेत आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − five =