सरकारको सय दिनप्रति एमालेको टिप्पणी : नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले आफ्नो काममा गति बढाउनुपर्ने बताएका छन् ।
उनले नागरिकको अपेक्षा सम्बोधन हुनेगरी सरकारले आफ्नो काममा गति बढाउनुपर्ने बताएका हुन् । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले सरकारको सय दिनको कसरी मुल्यांकन गर्नु भएको छ ? भनी प्रश्न गरेका थिए । त्यसको जवाफ दिँदै प्रमुख सचेतक बर्तौलाले सरकारको सय दिनमा नकारात्मक टिप्पणी गर्ने ठाउँ नभएको बताए ।
नागरिकमा विद्यमान समस्या समाधान गर्ने सामर्थ्यका साथ सरकारले काम गर्नुपर्ने उनको भनाई थियो । प्रमुख सचेतक बर्तौलाले सरकारप्रति नागरिकको ठूलो अपेक्षा भएकाले पनि त्यसलाई सम्बोधन हुने गरी काम गर्नुपर्ने बताए । सरकारले नागरिकको विश्वास जित्न सफल भएको दाबी गर्दै उनले सीमित स्रोत, साधनको बीचमा पनि सरकारले अधिकतम डेलिभरी दिन सकेको पनि बताए ।
प्रमुख सचेतक बर्तौलाले भने ‘सय दिनमा सरकारले नराम्रो गरेन । सय दिनको अंक दिँदाखेरि अनुत्तीर्ण भएको अवस्था छैन । डिस्टिंग्शन दिइहाल्नुपर्ने अवस्था पनि रहेन । त्यो पथमा सरकार पुगेको छ । नागरिकको विश्वास जितेको छ । अर्थतन्त्रलाई बिग्रँदो गतिबाट ट्र्याकमा ल्याउने ठाउँमा पुर्याएको छ । शान्ति सुरक्षालाई कायम पथमा सरकार अघि बढिरहेको छ । सरकारको तर्फबाट जलस्रोत, साधन छ, यसको सीमितताको बीचबाट पनि अधिकतम डेलिभरीहरू गर्न खोजेको देखिन्छ । तर अब सरकारले आफ्नो गति बढाउनु पर्छ । अब गेयर बदल्नुपर्छ । न्युट्रलमा थियो, अब १/२ हुँदै अगाडि बढाउनुपर्छ । अहिलेको गतिले अब पुग्दैन । नागरिकमा ठूलो अपेक्षा छ । युवाहरूको ठूलो संख्या बेरोजगार छन् । कृषिमा समस्याहरू छन् । यी देखिएका समस्या समाधान गर्ने सामर्थ्यका साथ सरकारले काम गर्नुपर्छ । अहिलेसम्मको सय दिनको मूल्यांकन गर्दाखेरि नकारात्मक टिप्पणी गर्ने ठाउँ छैन ।’
प्रमुख सचेतक बर्तौलाले सरकारले आफ्नो सय दिनमा मुलुकको बिग्रदो अर्थतन्त्रलाई ट्र्याकमा ल्याएको र नागरिकको विश्वास जित्न सफल भएको जिकिर पनि गरे ।








