आए त्यत्तिकै आइहाल्छ नत्र सरकारमा जाने हतारो छैन : शेखर कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले नेपाली काँग्रेसलाई सरकारमा जान हतार नभएको बताएका छन् ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेस अहिले प्रतिपक्षमा रहेकाले प्रतिपक्षको भुमिकालाई बलियो बनाएर जाने बताए ।

उनले सरकारका लागि आफैँ प्रश्ताव आए जाने तर कोशिस गरेर मरिहत्ते नगर्ने जिकिर गरे । उनले क्रिमिनलाइजेशन इन पोलिटिक्स गम्भीर बनेको बताए ।

‘हामी विपक्षमा छाँै, हामीले विपक्षको भुमिका खेल्ने हो, सरकारमा जाने हामीलाई कुनै हतारो छैन’ उनले भने,‘आउने भए त्यसै आउँछ, होइन भने कोशिस गरेर मरिहत्ते गरेर जसरी जान खोजिरहेका छौँ, अन्य दलहरु हामी छैनौँ । आदरणीय साथीहरु अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेशन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ ।’

उनले सहकारी मात्रै नभइ अन्य धेरै ठाउँहरुमा अख्तियार,निर्वाचन आयोग, सिआईबी लगायतले दुःख दिइरहेको बताए ।

उनले दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान नसकिने बताए ।

उनले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान नसकेसम्म देश बन्न नसक्ने बताए ।

‘तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, अनि धेरै ठाउँहरुमा अनावश्यक हिसावले अख्तियारले, अनावश्यक हिसावले निर्वाचन आयोगले, सिआईबीले दुःख दिइरहेको छ’ उनले भने,‘यो दुर्भाग्य हो, किन भइरहेको छ, यो कुरा राजनीतिक दलहरुको बीचमा छलफल हुन अत्यन्त जरुरी छ । केको लागि गरिरहेको छ । दल फुटाउने, दुःख दिने, व्यक्तिलाई दुःख दिने काम गरेर अघि जान सक्दैन । राजनीतिज्ञ, ब्युरोकेट्स र व्यपारी, व्यवसायीहरु एक ठाउँमा उभिसकेपछि त्यो अत्यन्त गाह्रो हुन्छ । जबसम्म हामीले सुशासनका कुरा, पारदर्शिताका कुरा, भ्रष्टाचारका कुरालाई छिनोफानो गरेर अघि जान सक्दैनौँ, तबसम्म यो देश अघि बढ्न सक्दैन । यो देशमा आर्थिक विकास हुन सक्दैन ।’

उनले अहिले देशको राजनीति अत्यन्तै तरल अवस्थाबाट गइरहेको बताए ।

उनले आठ वटा सरकार डेढ वर्षमा २३ पटक परिवर्तन भएको भन्दै संविधानका बारेमा सबै राजनीतिक दलहरुले एक पटक गहन रुपमा छलफल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =