सरकारले पाँच लाख वा त्यो भन्दा कम बजेट विनियोजन गर्नु गलत : सांसद घर्तीमगर

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीमगरले ५ लाख भन्दा कमको पनि बजेट विनियोजन शहरी विकास मन्त्रालयले विनियोजन गरेकोमा आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय सरकारले ५ करोड भन्दा कम बजेट विनियोजन नगर्ने प्रतिबद्धता जनाएपछि त्यस विपरीत बजेट आएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले ५ करोड भन्दा कम बजेट संघीय सरकारले नगर्ने भन्ने सहमति विपरीतका बजेटहरू विनियोजन गर्नु गलत भएको बताएका हुन् ।
उनले द्वन्द्व पीडितहरूलाई क्षतिपूर्ति दिनका लागि बजेट विनियोजन नगरिएकामा असन्तुष्टि व्यक्त गरे ।
सांसद घर्तीमगरले भने ‘शहरी विकास मन्त्रालयको बजेटमा ५ लाख बराबरको योजनाहरू १७७ वटा रहेछन् । जबकि हामीले ५ करोड भन्दा बढीको योजना समावेश नगर्ने भनेका थियौँ । तर ५ लाख बराबरको १७७ वटा योजनाहरू छन । ३ लाखका २४ वटा योजनाहरू छन । र, १ लाखका ९१ वटा योजनाहरू देखिएका छन । प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यूको भनाई र गराई मिलेन कि भन्ने मलाई लागिराखेको छ । यो ५ लाख, ३ लाख, २ लाखका योजनाहरू गर्दाखेरि मिलेन भन्ने मलाई लाग्छ ।’
सांसद घर्तीमगरले बजेट वितरणमुखी भएको पनि बताए ।








