सांसद सिंहको प्रश्न- ‘१ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ ?’

काठमाडौँ । सांसद डा.अमरेशकुमार सिंहले शहरी विकास मन्त्रालयको नाम मन्त्री विकास मन्त्रालय राख्न सुझाव दिएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा शहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले यस्तो सुझाव दिएका हुन् ।

उनले मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने प्रथा अन्त्य गर्न आवश्यक रहेको बताए । उनले मन्त्रीले आफूखुसी बजेट विनियोजन गर्ने व्यक्तिगत सम्पत्ति नभएको भन्दै त्यस्तो गर्न नमिल्ने बताए । सांसद सिंहले १० हजार जनसंख्या भएको डोल्पामा तीन पानाको योजना लैजाएर आफ्नो क्षेत्रमा एउटा पनि योजना नदिएको भन्दै असन्तुष्टि जनाए ।

उनले १ लाखमा स्मार्ट सिटी बनाउने मन्त्री आफूले दुनियाँमा नदेखेको बताए । उनले रातभरि गुगलमा खोज्दा समेत नभेटाएको बताए । उनले सहरी विकास मन्त्रीले अमेरिका जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने योजना ल्याएको बताए । उनले १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ संसदीय टोली बनाएर मन्त्रीले डोल्पामा बनाएको स्मार्ट सिटी अवलोकन गर्न जान आवश्यक रहेको बताए ।

उनले यसरी बजेट विनियोजन गर्नु बजेटको बरबादी भएको भन्दै आफ्नो हातमा भयो भन्दैमा मन्त्रीले जे पनि गर्न नमिल्ने बताए । उनले विकास मन्त्री वा सांसदको लागि मात्रै नभएर देश जनताको लागि भएको बताए । उनले मधेसलाई बजेट विनियोजन अहिले पनि मन्त्रालयगत रुपमा नपरेको बताए ।

उनले भने ‘शहरी विकास मन्त्रालयलाई मन्त्री विकास मन्त्रालय लेखे हुन्छ । १० हजार जनसख्या भएको डोल्पामा तीन पानाको योजना लैजानुभएको छ । यस्ता मन्त्री मैले दुनियाँमा देखेको छैन । रातभरि गुगलमा खोजे, सुशील कोईराला प्रधानमन्त्री भएको पाला देखि स्मार्ट सिटीको कन्सेप्ट आएको थियो ।

सहरी विकास मन्त्रीले अमेरिका जापानले समेत नसकेको काम १ लाखमा स्मार्ट सिटी बनाउने । ३ करोड भन्दा तलका योजना नहुने भन्ने प्रतिबद्धता थियो । उहाँका १ लाखका योजना सय करोड छ । १ लाख रुपैयाँमा कस्तो स्मार्टसिटी बन्छ । संसदीय टोली बनाएर मन्त्रीले डोल्पामा बनाएको स्मार्ट सिटी कस्तो हुन्छ । यो बजेटको बरबादी हो । आफ्नो हातमा भयो भने जे पनि गर्ने
? त्यो मिल्दैन । विकास देश जनताको लागि हो ।

मन्त्री वा सांसदको लागि होइन । कुनै एउटा भू–भागलाई बजेट दिँदै नदिने ? मधेसमा कति बजेट दिनुभएको छ । मेरो क्षेत्रमा एउटा पनि योजना परेन । मेरो साथी रक्षा मन्त्री हुनुहुन्छ उहाँको क्षेत्रमा पर्यो । उहाँले फेसबुकमा हालिदिनु भएछ मेरो क्षेत्रमा यो योजना छ । मेरो जनताले दबाब दिइरहेका छन् तपाईँको क्षेत्रमा केके छ । मन्त्रीको चाकरीको आधारमा बजेट विनियोजन गर्ने उहाँहरूको निजी सम्पत्ति होइन । जनताले तिरेको कर बाट बनेको बजेट हो ।’

उनले जनताले तिरेको कर बाट बनेको बजेटमा मन्त्रीले मनपरी रुपमा विनियोजन गर्न नमिल्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =