प्रधानमन्त्रीले भारत भ्रमणबारे संसदलाई जानकारी गराउनुपर्छ, सभामुखबाट रुलिङ होस् : एमाले (भिडिओ)

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्रीलाई भारत भ्रमणबारे संसदमा जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।
मंगलवार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै उनले दुई मुलुकबीचको थाँति रहेको समस्या समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग गर्नुभएको कुराकानी संसदलाई जानकारी गराउनका लागि रुलिङ गर्न सभामुख घिमिरेसँग आग्रह गरेका हुन् ।
‘म सभामुखज्युको ध्यानाकर्षण गर्दछु–रुलिङहोस प्रधानमन्त्रीज्यूलाई । भारत भ्रमणको हाम्रो र भारतबीचको विद्यमान समस्या समाधानको विषयमा के कुरा ठोस रुपमा भए, त्यसबारे यो संसदले जानकारी पाओस’ उनले भने,‘संसदको विशेषाधिकार हो सभामुखज्यू यो । सभामुखज्यूले पनि यसमा आँखा चिम्लिन मिल्दैन । ’
उनले संसदको विशेषाधिकार भएकाले पनि सो विषयमा प्रधानमन्त्रीलाई संसदमा जानकारी गराउन सभामुख आफैंले अग्रसरता लिनुपर्ने पनि बताए ।
सांसद पन्तले सार्क अलपत्र परेकाले नेपाल सरकारले त्यसको शिखर सम्मेलन अध्यक्ष राष्ट्रको हैसियतले नेपाल आफैले काठमाडौंमा गर्ने प्रस्ताव लैजान सक्नुपर्ने बताए ।
‘सार्क लथालिंग भयो । सार्क मात्रै होइन, सार्क युनिभर्सिटी, जो दिल्लीमा छ’उनले भने,‘त्यसको पनि सार्कको समयमा बैठक नबसेको कारण त्यसमा विभिन्न देशहरुले बजेट दिनुपर्नेमा त्यो समयमा नआएको कारणले यो समेत लथालिंग हुने अवस्थामा पुगेको छ । त्यसको विवाद कुनै देशसँग भएमा हामी काठमाडौंमा सम्मेलन गर्छौं । यो अधिकार चाहियो भनेर भन्नु पर्छ ।’
सांसद पन्तले नेपाल र भारतबीचको समस्या अहिले पनि ज्युँका त्युँ रहेपनि प्रधानमन्त्री दाहालले कुनै समस्या नभएजसरी अभिव्यक्ति दिएको भन्दै आपत्ति पनि जनाए ।








